सभापति देउवालाई एमालेका नेताहरूले दिए ओलीको सन्देश र निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमालेका नेताहरूले भेट गरेर राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकमा अतिथिका रूपमा सहभागी भइदिन निम्तो दिएका छन् ।

शुक्रबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवालाई भेट गरेर एमालेका नेताहरूले निम्तो दिएका हुन् ।

एमालेका सचिव योगेश भट्टराईले एमालेको तर्फबाट कांग्रेसका सभापति देउवालाई परिषदको बैठकको निम्तो दिइएको बताए ।

सभापति देउवालाई निम्तो दिन सचिव भट्टराईसहित एमाले काठमाडौं जिल्ला सचिव दीपक निरौला र बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहितका नेताहरू पुगेका थिए ।

सचिव भट्टराईले निमन्त्रण पत्र हस्तान्तरण गर्दै अध्यक्ष केपी ओलीको सन्देश सभापति देउवालाई सुनाएका छन् ।

शनिबारदेखि ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा एमालेको प्रतिनिधि परिषद् बैठक हुन लागेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् ।

नेपाली कांग्रेस र एमालेका नेताहरूबीच निरन्तर परामर्श भइरहेका समाचार आइरहेका बेला एमालेका नेताहरूले सभापति देउवालाई भेट गरेका छन् ।

Published : Friday, 2024 April 19, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया