नयाँ सरकार र उपनिर्वाचनहरूबारे कांग्रेस यस्तो छ निष्कर्ष, देउवासहितका नेताहरू उत्साहित

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ ।

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले प्रदेश प्रमुखहरूले गण्डकी र सुदूरपश्चिम प्रदेशमा संविधान विपरीत काम गरेको निष्कर्ष निकालेको हो ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रदेशमा संवैधानिक व्यवस्थालाई मिचेर काम भइरहेको बताएका छन् ।

उनले भने, ‘प्रदेश प्रमुखले संवैधानिक व्यवस्था विपरीत काम गरिरहेका छन् । अदालतको मानहानि गरिरहेका छन् । यस विषयमा प्रदेशका साथीहरूले बिफ्रिङ गर्नुभएको थियो ।’

‘त्यसको प्रतिवाद गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको छ’, प्रवक्ता डा.महतले भनेका छन् ।

सभामुखलाई गणना गरी एमालेका खगराज अधिकारीले दाबी पेस गर्दा गण्डकी प्रदेशमा प्रदेश प्रमुख शिवराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अधिकारीको नियुक्तविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । प्रदेश प्रमुख भट्टले वैशाख ७ गते प्रदेशसभाको बैठक आह्वान गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले बहुमतसहित दाबी पेस गर्दा पनि प्रदेश प्रमुख नजिर मियाँले अस्वीकार गरेर असंवैधानिक काम गरेको डा.महतले बताएका छन् ।

प्रदेशमा भइरहेको असंवैधानिक कामबारे कानूनविद् गोपालकृष्ण घिमिरे, सीताराम केसी र खम्मबहादुर खाती लगायत छलफल गरेको डा.महतले बताएका छन् ।

सभापति देउवाले बैठकमा बुधबार साँझ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँगको भेटबारे छलफलमा जानकारी गराएका छन् ।

नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो दलको मुख्यमन्त्री बन्ने परिस्थिति बनेको भन्दै सहयोग मागेका थिए ।

त्यसैगरी, कांग्रेसले इलाम–२ को उपनिर्वाचनमा आफ्नो मत बचाउन सके चुनाव जित्न सकिने आकलन गरेको छ ।

उपसभापति पूर्णबहादुर खड्काले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा कांग्रेसको प्रचारात्मक अभियानसहित अघिल्लो चुनावको मत संख्याबारे ब्रिफिङ गरेका छन् ।

उपनिर्वाचनमा पार्टी एकढिक्का भएर व्यापक रुपमा परिचालित भएको सुनाउँदै खड्काले आफ्नो मत जोगाउन सके चुनावको परिणाम आफूहरुको पक्षमा आउने बताएका थिए ।

गत निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए ।

कांग्रेसका पराजित उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए । उनी एमालेका नेता नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उपनिर्वाचनमा पनि सभापति देउपा पक्षका डम्बर खड्का नै उम्मेदवार बनेका छन् । कांग्रेसले उक्त क्षेत्रमा समानुपातिकतर्फ २२ हजार ३३३ मत पाएको थियो ।

महामन्त्री विश्वप्रकाश शर्मालाई कांग्रेसले इलाम–२ को चुनावी परिचालनको संयोजक बनाएको छ । दुई महामन्त्रीले सम्बोधन गर्ने गरी कांग्रेसले शनिबार चुनावी सभा राखेको छ ।

Published : Thursday, 2024 April 18, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया