ओलीको सालीको आरोप खेप्दै आएकी शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिने अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको छ ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले एमाले नेतृ शाक्यलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि बुधबार राष्ट्रपति पौडेललाई भेट गरेर सिफारिस गरेका थिए ।

मन्त्रिपरिषदको चैत ३० गते बसेको बैठकले एमाले नेतृ शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

एमालेको विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् । शाक्यको चीनसँग निकै राम्रो सम्बन्ध रहेको छ । शाक्यले एमाले अध्यक्ष ओलीको पारिवारिक सदस्य अर्थात् सालीको आरोप खेप्दै आएकी छिन् ।

ओलीकी पत्नी राधिका शाक्यको आफन्तका रुपमा शाक्यलाई बेलाबेला चर्चामा ल्याउने गरिएको छ ।

Published : Thursday, 2024 April 18, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया