दुधकोशीमा दक्षिण एशियाकै ठूलो हाइड्याम, कांग्रेस नेता खतिवडाले ओखलढुङ्गामा के-के योजना ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ओखलढुङ्गामा दक्षिण एशियाकै ठूलो हाइड्यामको हाइड्रो पावर दुधकोशी नदीमा आउन लागेको बताएका छन् ।

बुधबार गृहजिल्ला ओखलढुङ्गामा दोस्रो ओखलढुङ्गा महोत्सव २०८१ को उद्घाटनमा खतिवडाले ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाका जनप्रतिनिधिहरूको संयुक्त पहलमा हाइड्यामसहितका हाइड्रो पावर प्रोजेक्ट आउन लागेको बताए । उनले हाइड्यामका लागि ७१ अर्ब ५७ करोड नेपाली रुपियाँ एशियाली विकास बैंकले दिन लागेको बताए ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेस नेता खतिवडाले भने, ‘म कसैको आलोचना गर्न चाहँदैन । मलाई कसले गाली गर्‍यो, आलोचना गर्‍यो, गरेन । मैले त्यो अनुभव गरेको छु । मेरा कारणले ओखलढुङ्गेली जनताले गाली खानु हुँदैन ।’

‘मेरा कारणले ओखलढुङ्गाको विकास र समृद्धि कम हुनु हुँदैन’, उनले भनेका छन् ।

उनले भने, ‘मैले ४ वर्ष जित्दै गर्दा साँघुटार–घोराखोरीको बाटो उहिल्यै पिचका लागि टेण्डर भएको आजसम्म शुरु भएको थिएन । आज रानीवनमा आउने काम शुरुवात भइसकेको छ । २०७४ साल पछाडि वरिपरी लिखुएकवा केन्द्रमा परेको थिएन ।’

‘मोलुङएकवार एउटा थियो । त्यो सम्पन्न हुन सकेन । २०७४ पछि दुधकोशीएकवार केन्द्रमा राखेर अहिले ढेड करोड रुपियाँ छुट्टाएर फेरि ७५ करोडभन्दा बढि पैसा छुट्टाएर बाटो अहिले रमुवासम्म बाटो लादै छौँ’, उनले भने ।

‘साउथ एशियाको सबैभन्दा ठूलो हाइड्याम प्रोजेक्टका लागि सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका सबै माननीयहरू एक ठाउँमा भएर केही दिन पहिला हामीले खोटाङमा एउटा कार्यक्रम गर्‍यौँ’, उनले भने ।

‘ओखलढुङ्गा, सोलु र खोटाङका प्रमुख जिल्ला अधिकारीहरू, समन्वय समितिका प्रमुखहरू सबैलाई राखेर एउटा कार्यक्रम, एडीबीका प्रमुखहरू मनिलाबाट एउटा सहमति, हामीसँग प्रतिवद्धता पत्र जाहेर गर्नुभयो । हामीले सहि गरेर दियौँ’, खतिवडाले भने ।

‘यो आयोजना शुरु हुन्छ भने । अहिले हामीले सबैभन्दा ठूलो उपलब्धी दुधकोशी हाइड्रोपावरका लागि झण्डै ५५ मिलियन डलर अर्थात् ७१ अर्ब ५७ करोड रुपियाँ अस्तिका दिनमा अर्थ मन्त्रालयबाट सहमति भएको छ’, उनले भने ।

‘ओखलढुङ्गाको लागि मात्रै होइन देशको लागि सबैभन्दा ठूलो आयोजना ल्याउन सफल भएका छौँ’, खतिवडाले भने ।

‘मोलङएकवार धेरै अगाडिदेखि रोकिएको प्रोजेक्टलाई आज दुबैतिरबाट खनेर यो वर्ष हामी पूरा गर्ने लक्ष्यमा छौँ । पुल बने, बनेनन् । सुनकोशीमा एउटा पुल छ । पुल सानो भयो भनेर बलखुमा झण्डै ७१ करोडभन्दा बढिको प्राजेक्टको रुपमा नयाँ पुल स्थापना गरेका छौँ । टेण्डरको प्रक्रियामा अगाडि बढ्दै छ’, सभापति खतिवडाले भने ।

‘सुनकोशीमा अर्को पुलको आवश्यक्ता भएको छ । ओखलढुङ्गा, सोलु र खोटाङमा पूर्वीपहाड भोजपुरदेखि अहिले इलाम, पाँचथरसम्म जानका लागि मध्यपहाडी राजमार्ग ठूलो पुलको आवश्यक्ता भएको छ । यसका लागि डीपीआरको कार्य अगाडि बढेको छ’, उनले भने ।

सभापति खतिवडाले भने, ‘घोक्रो फुलाएर गाली गरेर मुलुकमा समृद्धि आउँदैन । हामीले अहिले रकम नभइकन कुनै पनि आयोजना उद्घाटन, शिलान्यास गर्ने काम बन्द गरेका छौँ । रकम छैन ठाउँ ठाउँमा गएर बालुवाटारबाट होस्, काठमाडौंको कुनै अफिसबाट होस्, कुनै माननीयहरू मैले देखेको थिएँ एकैदिन ३/४ ठाउँ स्वास्थ्य कार्यालयहरू कुदाकुद गर्दै शिलान्यास उद्घाटन गरेका, आजसम्म शुरु भएको छैन ।’

बिगतमा एमालेबाट ओखलढुङ्गाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारप्रति संकेत गर्दै खतिवडाले भने, ‘मानेभञ्ज्याको अगाडि बढाउन सकेका छैनौँ, मोलुङको स्वास्थ्य त्यस्तै अवस्थामा छ । अन्त पनि हामीले अगाडि बढाउन सकेका छैनौं । घोषणा गरेर मात्रै कुनै काम हुँदैन । हामीले काम गरेर देखाउने बेला आएको छ ।’

‘माननीय यज्ञराज सुनुवारले बोल्नेवित्तिकै मैले मञ्चमै भने अरु कलाकारलाई योभन्दा अगाडि नबोलाउनुस् है’, खतिवडाले भने, ‘सबैभन्दा चर्चित कलाकारले बोलिसक्नुभयो । अरुलाई अब यहाँ नल्याउनुस् भनेर भनेको थिएँ । हुन पनि त्यस्तै भयो ।’

एमालेका नेता एवम् पूर्वसांसद सुनुवारले विगतमा बजेट नभएको योजनाहरूको शिलान्यास गर्ने, पिङ् उद्घाटन गर्ने, हावा गफ दिने लगायतका कार्य गर्दै आएका थिए । कार्यक्रममा सुनुवारले विभिन्न लाञ्छना लगाउने कार्य गरेपछि खतिवडाले जवाफ दिएका हुन् ।

Published : Wednesday, 2024 April 17, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया