रेष्टुरेन्ट र स्पामा यौन धन्दा सञ्चालन गर्ने पूजा र ओमकुमारी पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले दुईजना महिलाजाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाको झापा गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पूजा लोवा र चितवनको वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भन्ने ओमकुमारी पुन रहेको विज्ञप्तिमा उल्लेख छ ।

नवलपुरस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको आरोप उनीहरूमाथि लागेको छ ।

विशेष सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पूजा लोवालाई चावहिल तथा ओमकुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ । प्रारम्भीक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाईदिने भनि ओम कुमारीले नवलपुरस्थित एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट संचालकद्वारा ललाई फकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको अभियोग छ ।

तत्पश्चात नाबालिकालाई काठमाडौंको चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा लगेर काममा लगाएको र उक्त स्पाकी
संचालक पूजा लोवाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

ओमकुमारीले नाबालिकालाई रातिको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुल्न आएको व्यूरोले जनाएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2024 April 17, 8:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया