प्रचण्ड सरकार अल्पमतमा परिसक्यो : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक पद्धति हटाएर राष्ट्रिय सभालाई पूर्णरुपमा समानुपातिक बनाउनुपर्ने सुझाव दिएका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस ओखलढुंगा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित नव वर्षको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले प्रतिनिधि सभाको समानुपातिक पद्धतिले राजनीतिक स्थायित्व कहिले नहुने बताएका छन् । उनले राष्ट्रिय सभालाई समानुपातिक, समावेशी बनाउनुपर्ने सुझाव दिए ।

खतिवडाले जनताको अरबौ पैसा अपचलन भएकोले आरोपित रवि लामिछाने र सहकारीको रकम ठगीका विषयमा संसदीय छनविन समितिको लागि कांग्रेसले माग राख्दै आएको बताएका छन् ।

कांग्रेसले उठाएको संसदीय समितिको मुद्दामा सरकारमा रहेकै पार्टीले पनि समर्थन गरेको भन्दै सभापति खतिवडाले अहिलेको सरकार अल्पमतमा परेको बताए ।

सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी)ले पनि सहकारीको रकम ठगी प्रकरणको छानविनका लागि संसदीय छानविन समितिको माग गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई बचाउन न्यायाधीश बनेर जथाभावी बोल्दै आएका छन् ।

यसअघिको कांग्रेस र माओवादीसहितका दलहरुको गठबन्धनलाई ५ वर्षसम्म टिकाउन कांग्रेस इमानदारिताका साथ लागेको उनले बताए । तर, माओवादी धोकेबाज भएका कारण गठबन्धन भत्किएको सभापति खतिवडाले बताए ।

कार्यक्रममा नेताहरु प्रकाशमान सिंह, बालकृष्ण दाहाल लगायतको उपस्थिति रहेको थियो । उनीहरुले कांग्रेसलाई संगठनात्मक रुपमा बलियो बनाउन आग्रह गरेका छन् ।

Published : Monday, 2024 April 15, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया