भारतीय सेनाका लेफ्टिनेन्ट जनरलद्वारा नेपाल भ्रमण

काठमाडौं । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंह, पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

चैत २६ गते उनलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल अमितकुमार शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो पाँच दिने भ्रमणका दौरान लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरेका छन् ।

उनले काठमाडौं, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत ¥यालीलाई सम्बोधन गरेका छन् । गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै सिंहले उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरेका छन् ।
भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने बताए ।

लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेको भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यावसायिक भूमिकाको प्रशंसा गरेका छन् ।

Published : Sunday, 2024 April 14, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया