प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम समुदायलाई ईद–उल–फित्रको शुभकामना दिएका छन् ।

बुधबार शुभकामना सन्देश दिँदै देउवाले ईद–उल–फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने बताएका छन् ।

‘इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ईद–उल–फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना (इद मुवारक) प्रकट गर्दछु’, देउवाले भने ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो’, उनले भने, ‘यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्वहरू छन् ।’

देउवाले भने, ‘यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो । यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ ।’

‘त्यसमध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो । ईद–उल–फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक संहिष्णुता र सद्भावना बढाउँदै आएको छ’, सभापति देउवाले भने ।

‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु’, उनले भने ।

‘ईद–उल–फित्रले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Thursday, 2024 April 11, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया