बेइमानसँग गठबन्धन हुँदैन, सभापति देउवाको निर्देशनअनुसार बागमतीमा संगठन बनाउँछौँ : बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बेइमानहरूसँग गठबन्धन नगर्ने बरु सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार बागमती प्रदेशभरि एक्लै चुनाव लड्ने गरेर संगठन निर्माण गर्ने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ काठमाडौंमा आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै बानियाँले बेइमानहरूसँग अब गठबन्धन नहुने बताए । उनले भने, ‘गठबन्धनमा इमान्दारिता नभएका बेइमानहरूसँग अब गठबन्धन हुँदैन ।’

‘अब कांग्रेस एक्लै चुनाव लड्ने । एक्लै चुनाव लडेर जनताको बलमा स्थापित हुने र जनताको बलमा आएको पार्टी हो’, सभापति बानियाँले भने ।

‘जनताको बलमा एक्लै चुनाव लड्न सभापतिले दिएको निर्देशनलाई बागमती प्रदेशभरि त्यही अनुसार मैले संगठन निर्माण लाग्न प्रतिवद्धता व्यक्त गर्दछु’, बानियाँले भने ।

उनले भने, ‘बेइमानहरूलाई इमानको राजनीति सिकाउँदै । धर्मको नाममा राजनीति गर्ने । राजाको नाममा राजनीति गर्ने । जातको नाममा राजनीति गर्ने पार्टीहरू धेरै आए ।’

‘कांग्रेस न जातको नाममा । न धर्मको नाममा । न राजाको नाममा राजनीति गर्ने पार्टी हो’, उनले भने, ‘कांग्रेसले मानवताको राजनीति गर्छ । जनतालाई केन्द्रविन्दु बनाएर राजनीति गर्छ ।’

उनले भने, ‘जनता मरिरहँदा कांग्रेसले माओवादीसँग शान्ति प्रक्रिया गरेको हो । राजा फाल्न समानताको लागि माओवादीसँग मिलेको हो । संविधानको रक्षाको लागि गठबन्धन भएको हो ।’

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेर गठबन्धन भत्काएर एमालेसँगको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले बेइमानीको संज्ञा दिँदै आएको छ ।

सभापति शेरबहादुर देउवाले पनि कांग्रेसको एक्लै बहुमत आउने गरेर संगठन निर्माण गर्न निर्देशन दिएका छन् । देउवाको निर्देशनलाई बागमती कांग्रेसका सभापति बानियाँले अनुसरण गर्दै संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

Published : Sunday, 2024 April 7, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया