सिन्धुपाल्चोक कांग्रेसमा मभन्दा प्रभावशाली नेतृत्व धेरै जन्माउनुछ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कांग्रेस बलियो हुनुपर्ने बताएका छन् ।

शनिबार सिन्धुपाल्चोक जिल्लामा आयोजित कांग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेको नेता बस्नेतले भने, ‘सिन्धुपाल्चोकको कांग्रेस बलियो बन्न सबैभन्दा धेरै आवश्यक्ता मलाई छ ।’

‘सबैभन्दा बढि फाइदा लिने मान्छे म हुँ । मैले लिइसके । मैले यो गुन तिर्नुपर्नेछ’, उनले भने, ‘मभन्दा प्रभावशाली नेतृत्व धेरै जन्माउनुछ । जन्माउन खोज्यो हिँड्न सक्ने भएको छैन दौडिन खोजी हाल्छ ।’

बस्नेतले भने, ‘दौडिएपछि के गर्ने त ? एउटालाई नेता बनाउन खोज्यो उहि आफै बाटो खोज्छ । अर्कोलाई बनाउन खोज्यो अर्को बाटो खोज्छ ।’

‘म कसैलाई बिगार्ने पक्षमा छैन । बारम्बार भनेको छु । म संघीय सांसद बन्ने त हो । अरु त सबै बाँड्ने हो । एउटा चिज त तेरो अधिकार छैन भनेपछि न्याय हुन्छ त ? नेतृत्वमा खटिएको म हुँ नि ? अलिक धेरै दौडिने म होला नि ? एउटा चिज म खोज्छु । अरु सबै बाँडेर मिलाएर लैजान चाहन्छु’, बस्नेतले भने ।

बस्नेतले कांग्रेसभित्रको गुट र उपगुटप्रति असन्तुष्टि जनाएका छन् । उनले गुट र उपगुट उचित नरहेको बताए ।

उनले भने, ‘गुट उपगुटको कुरा ठीक होइन । काम गर्नेको पछि त लाग्नु पर्ला नि ? गुट भएर म कहाँ आउनुपर्छ भन्ने छैन । चाहिएको बेला म कहाँ आउने र नचाहिएको बेला आउनलाई त म पनि हिसाब गर्छु नि ।’

नेता बस्नेतले कांग्रेसमा जातीय कुरा गर्न नहुनेभन्दै जातीय सन्तुलन मिलाउनपर्ने उल्लेख गरे । उनले सबैलाई मिलाएर लैजाँदा कांग्रेसको संगठन बलियो हुने बताएका छन् ।

‘जातीय कुरा गर्नु हुँदैन । जातीय नारा लगाउनु हुँदैन । तर, जातीय सन्तुलन नमिलाइ हुँदैन भन्ने मान्छे हुँ म । मेरो टिममा नेवार, तामाङ, बाहुन, महिला लिएर हिँड्ने गरेको छु’, उनले भने ।

Published : Saturday, 2024 April 6, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया