काठमाडौंमा पाकिस्तानी नागरिकहरूद्वारा मानिसहरू बन्धक बनाउने धन्दा

काठमाडौं । श्रीलङ्कन नागरिकहरूलाई काठमाडौंमा बन्धक बनाउने चारजना पाकिस्तानीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालय, मीनभवनले ५७ वर्षीय जुवेर अम्जाद, ६१ वर्षीय मलिक अब्दुल हमिद, ४२ वर्षीय शाहजेहान तानविर र ४४ वर्षीय आरिफ मसिहलाई पक्राउ गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रीलङ्कन नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशमा पठाउने भनी पाकिस्तानी नागरिकहरूले नेपालमा बन्धक बनाउने कार्य गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

नागरिकहरूलाई श्रीलङ्काबाट ल्याइ उपत्यकाका विभिन्न स्थानका होटलमा राखी पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिएर धाक, धम्की दिइ कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क हुन नदिइएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी नागरिकहरूविरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

Published : Friday, 2024 April 5, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया