जुँगा काला हुन थाले, कपाल पलाउन थाले, अझै २० वर्ष कसैले आश नगरे हुन्छ : केपी ओली

पोखरा । एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा अघि बढाउन आफू अझै २० वर्ष सक्रिय राजनीतिमा रहने बताएका छन् ।

शुक्रबार एमाले जिल्ला कमिटी कास्कीको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘एमाले अहिले नयाँ समीकरणको सरकारमा छ । तर, पार्टी आफ्नाआफ्ना छन् ।’

‘पार्टीका आफ्नाआफ्ना नीति छन् । पार्टीका आ–आफ्ना उद्देश्य छन्’, उनले भने, ‘आफ्ना उद्देश्य नछोडिकन, आफ्ना नीति नछोडिकन अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा छ ।’

अध्यक्ष ओलीले अघि भने, ‘कसैले एमालेबिनाको नेपाल भने त कसैले केपी ओलीबिनाको नेपाल भनेर सोँचे । तर, अब त्यस्तो नसोचे पनि हुन्छ– मैले पोहोर परार भनेको थिएँ, जुँगा अलि काला– काला हुन थाले भनेर । मेरो कपाल सबै झरेको थियो, अहिले पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको हो । अझै २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ ।’

‘एमाले र यस देशलाई ठीक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ’, ओलीले भने ।

उनले सबैले सरापे पनि आफ्नो नेतृत्वमा एमाले झन् बलियो बन्दै गइरहेको बताएका छन् ।

उनले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी अहिलेदेखि संगठन निर्माणमा परिचालित हुन समेत नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको र पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Published : Friday, 2024 April 5, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया