विवादास्पद व्यापारीसँग दीपक मल्होत्रासँग किन नजिक भए महानिर्देशक ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर तनाबमा परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विवादास्पद व्यापारी दीपक मल्होत्रासँग साँठगाँठ गरेका छन् ।

विश्वकै धनी व्यापारीको सूचीमा रहेका भारतीय नागरिक गौतम अदानीसँग निकट हुन महानिर्देशक अधिकारीले मल्होत्रालाई अगाडि बढाएको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ । मल्होत्राले अदानी समूहसँग आफ्नो सम्बन्ध राम्रो रहेको भनेर अधिकारीलाई घुमाइरहेका छन् ।

अधिकारी र मल्होत्रा मिलेर अदानी समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भाडामा सञ्चालन गर्न दिने तयारी गरेको प्राधिकरणका एक कर्मचारीले बताए । अदानी समूहलाई निजगढ विमानस्थल बनाउन दिने तयारी पनि महानिर्देशक अधिकारीको छ । निजगढ विमानस्थल बनाउँदा अदानी समूहले आयोजना प्रमुख बनाउनुपर्ने महानिर्देशक अधिकारीको प्रस्ताव बोकेर विवादास्पद व्यापारी मल्होत्राले निकै दौडधुप गरेको चर्चा छ ।

अदानी समूहले भारतको गुवाहाटीको गोपीनाथ एयरपोर्ट सञ्चालन गर्दै आएको छ । वर्षात् हुँदा एयरपोर्टको छत भत्किएको छ । अदानी समूहले राम्रोसँग सञ्चालन गर्न नसकेका बेला महानिर्देशक अधिकारीले नेपालका ३ ठूला विमानस्थल भाडामा सञ्चालन दिन प्रयास गरिरहेको आरोप छ । महानिर्देशक अधिकारीको यो गतिविधिको कर्मचारीहरूले विरोध गरिरहेका छन् । कर्मचारीहरू महानिर्देशक अधिकारीसँगको डरले गर्दा बाहिर खुलेर बोल्न सक्दैनन् ।

महानिर्देशक अधिकारीले ३ वटा ठूला विमानस्थल भाडामा दिने र निजगढ विमानस्थल बनाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग सेटिङ्ग मिलाइसकिएको बताउने गरेको चर्चा प्राधिकरणभित्र छ ।

प्राधिकरणको महानिर्देशकमा अधिकारी आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी ह्वात्तै बढेको छ । सुन तस्करीको आरोप लागेका मल्होत्रा र अधिकारीबीच साँठगाँठ भएको चर्चा प्राधिकरणभित्र भएपछि विभिन्न अड्कलबाजी भएका छन् । हुन त अधिकारीले विमानस्थलको सुरक्षा आफूहरूको नरहेको बताइसकेका छन् । तर, विमानस्थलको जिम्मेवार व्यक्ति भएका कारण सुन तस्करीका विषयमा महानिर्देशक अधिकारीले पनि विशेष ध्यान दिनुपर्ने चर्चा छ ।

मल्होत्राले विमानस्थलको आगमन कक्ष भाडामा लिएर भवन बनाएर भाडामा लगाएका छन् । मल्होत्राले विमानस्थलका पार्किङमा मिटर व्याज जस्तै गरेर शुल्क उठाउने गरेका छन् । आगमन कक्षमा प्रवेश गर्न पनि मल्होत्राले शुल्क लिने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिकको चाप हुँदा वा वर्षात् हुँदा विदेशी विमान विदेशतिरै डाईभर्ट हुन थालेका छन् ।

तर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल रित्तो बसेका छन् । ती विमानस्थल सञ्चालन गर्ने विषयमा अधिकारीले सिन्को पनि भाँच्न सकेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आई.एफ.आर. सञ्चालन हुने भनेर प्रधानमन्त्रीकै मुखबाट महानिर्देशक अधिकारीले झुटो बोल्न लगाएका थिए । १ वर्ष हुँदा पनि आई.एफ.आर.को सुरसार छैन । जहाज लगातार डाईभर्ट भएर विदेशी कम्पनीहरू लाखौं अतिरिक्त खर्च हुन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाईट घटाउने चेतावनी दिन थालेका छन् ।

पोखरा विमानस्थलमा विदेशी कम्पनीहरूले उडान भर्न खासै चासो देखाएका छैनन् । चीनले पनि महानिर्देशक अधिकारीसँग असन्तुष्टि जनाउन थालेका छन् । अधिकारीले चीनको बदनाम गरेको भनेर रिसाएको प्राधिकरणभित्र चर्चा छ ।

चिनियाँहरूले महानिर्देशक अधिकारीलाई आफै पहिले प्रोजेक्ट म्यानेजर भएर कमसल काम गर्ने, अकुत भ्रष्टाचार गर्ने, लागत बढाउँदै ऋण लिन तम्सने र अहिले आफै महानिर्देशक भएर कारवाही गर्न खोज्ने दोहोरो चरित्र देखाएको भनेर रिसाएको चर्चा छ । पोखरा विमानस्थलमा भएको अनियमितताबारे महानिर्देशक अधिकारीसँग अख्तियारले बयान लिएपछि झन् चिनियाँहरूले उनलाई विश्वास गर्न छाडेको चर्चा छ ।

अख्तियारले छानविन गरिरहे पनि अख्तियारको मधिशेले १५ करोड मागेको थियो, मैले मिलाइसके भन्ने गरेको महानिर्देशक अधिकारीले प्राधिकरणमा बताउने गरेको चर्चा छ ।

उता, महानिर्देशक अधिकारीले जुम्ला विमानस्थलका सन्तोष अधिकारीलाई छिटो विमानस्थलको स्तरोन्नतिको पैसा बुझेर आफ्नो भाग बुझाउन ताकेता गरेको चर्चा प्राधिकरणमा खासखुस हुने गरेको छ ।

Published : Friday, 2024 April 5, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया