नेपाल वायुसेवा निगमका ३ पाइलट निलम्बन, धेरैलाई लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोप लागेको छ ।

निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती, वरिष्ठ क्याप्टेन सुवास रिजाल, वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, क्याप्टेन श्रवण रिजाल, हाल निर्देशक रहेका उमेश पौडेल, निर्देशक उपेन्द्र पौडेल र उपनिर्देशक बृहतमान तुलाधरमाथि भ्रष्टाचार आरोप लागेको छ । उनीहरू वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएपछि निलम्बनमा परेका छन् ।

निगमका तीन जना पाइलटले जहाज उडाउन नपाउने निगमका प्रवक्ता देवेन्द्र पुनले बताए । निलम्बनमा परेकामध्ये श्रवण रिजाल इन्स्ट्रक्टर पाइलट हुन् । रिजालले अन्य पाइलट र कोपाइलटको चेकजाँच गर्ने जिम्मेवारी थियो ।

निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीविरुद्ध मुद्दा दायर भएको छ । उनी कार्यकारी अध्यक्षपछिको वरीयतामा छन् ।

कालाखेतीविरुद्ध विमान खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक प्रपोजल डकुमेन्ट तयार गर्दा विमानको प्राविधिक स्पेसिफिकेसनका आधार र मापदण्ड नखुलाई खरिद गरिने विमानको प्राविधिक स्पेसिफिकेनकासहित गलत लिखित तयार गरी पेश गरेको आधारमा मुद्दा दायर गरिएको छ ।

वरिष्ठ क्याप्टेन सुवास रिजालले रिक्वेस्ट फर प्रपोजलसहितका डकुमेन्ट गलत लिखित पेश गरेको आरोप लागेको छ । वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन र क्याप्टेन श्रवण रिजालमाथि २३० टन क्षमताको जहाज आयात गरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप छ ।

हाल निर्देशक रहेका उमेश पौडेल, निर्देशक उपेन्द्र पौडेल, हाल निर्देशक रहेका क्याप्टेन श्रावण रिजाल उपनिर्देशक बृहतमान तुलाधरलाई विमान खरिन गर्ने प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक काम गरेको आरोप छ ।

२३० टन क्षमताको जहाज आयात गरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ ।

इन्जिनियर उपेन्द्र पौडेल म्यानेजमेन्ट डिपार्टमेन्ट प्रमुख हुन । सीए उमेश पौडेल फाइनान्स डिपार्टमेन्ट प्रमुख र वरिष्ठ क्याप्टेन श्रावण रिजाल अपरेसन विभाग प्रमुख छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धिसागर लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको छ । उनी निलम्बनमा परेका छन् ।

तत्कालीन निगम सञ्चालक समिति सदस्य हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

Published : Thursday, 2024 April 4, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया