बर्खास्तीमा परेका डीएसपी केसीलाई कदै र जरिवाना फैसला

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

मंगलबार विशेष अदालतले डीएसपी केसीलाई दोषी ठहर गरेको छ । अदालतले बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गरेको छ ।

केसीलाई ८ लाख ५० हजार रुपियाँ जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसी गत साउन महिनादेखि बर्खास्तीमा परेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीले सुनचाँदी व्यवसायी किसन बिकसँग घुस लिएको आरोप केसीलाई लागेको थियो ।

गत वर्षको मंसिर महिनामा बुटवलस्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका बिकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजार रुपियाँको चेकसमेत बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा उक्त सुन डीएसपी केसीले खाने उद्देश्यले रितपूर्वक बरामद नगरी बार्गेनिङ गरेको र ८ लाख ५० हजार नगद र चेकसमेत लिई सुन फिर्ता गर्ने तयारी भइरहेको खुलेको थियो ।

Published : Wednesday, 2024 April 3, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया