चितवन कांग्रेसद्वारा सहकारी ठगलाई कारबाहीको माग, गृहमन्त्री लामिछानेसहितका भीआइपीलाई तनाब

भरतपुर । नेपाली कांग्रेस चितवनले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको माग गरेको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा सहकारी संस्थाहरूले बचतकर्ताहरूसँग रकम संकलन गर्ने तर, सहकारी ऐन विपरीत करोडौं बचत रकम अपचलन गरेकोमा रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरूले निवेदन दिएको उल्लेख गरिएको छ । चैत १५ गते सरोकारवाला पीडितसँग चितवन कांग्रेसले अन्तर्क्रिया गरेको जनाइएको छ ।

कांग्रेसले चितवनमा मुख्य कार्यालय एवम् शाखा कार्यालयहरू खोली सहकारी सञ्चालन गर्दै आएका साहारा सहकारी, शिवशिखर, सनराइज, परिचय, लालीगुँरास बचत तथा ऋण सहकारी संस्थासहित अन्य सहकारीमा बचतकर्ताको करोडौं रकम सञ्चालकहरूले हिनामिना गरेको कांग्रेसको ध्यानाकर्षणपत्रमा आरोप लगाइएको छ ।

कांग्रेसले बचत रकम हिनामिना गर्ने सहकारीका तत्कालीन सञ्चालकहरूको खोजी गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउन सर्वाधिकारसहितको संसदीय समिति गठन गर्न माग गरेको छ ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘सहारा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष जीवी राईलगायत ११ जना, शिव शिखर, सनराइज, परिचय, लालीगुराँसलगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायबाट अभिलम्ब पक्राउ गरी अनुसन्धान गर्न र पछिल्ला दिनहरूमा बचतकर्ताहरूले सहकारी संस्थामा जम्मा गरेको बचत रकम आफूलाई आवश्यक पर्दा फिर्ता लिन पाउने सुनिश्चितता दिलाउँदै बचतकर्ता पीडितहरूको रकम अभिलम्ब फिर्ता गराउने व्यवस्थाका लागि ठोस नीति तर्जुमा गरी फिर्ता दिलाउने कार्यमा सहयोग गर्न नेपाल सरकारको ध्यानाकर्षणको लागि समेत अनुरोध गरिन्छ ।’

कांग्रेसले ध्यानाकर्षणपत्रसहित सहकारी पीडितहरूले राखेको विचारहरूको भिडियो पनि संलग्न गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

कांग्रेसले सहारामा १० हजार ६ जना बचतकर्ताको ८५ करोड, शिवशिखरमा १४ हजार ८०० बचतकर्ताको ९५ करोड, सनराइजमा सात हजार २०० बचतकर्ताको ७२ करोड, लालीगुँरासको १२ करोड ९३ रुपियाँ हिनामिना भएको र अन्यको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गरेर करोडौं रुपियाँ ठगी गरेको आरोपमा मुछिएका छन् । कांग्रेसले लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएको छ ।

सहकारीको रकम ठगी गरेको अभियोगमा रास्वपाका उपसभापति समेत रहेका श्रम, रोजगारी तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी), माओवादी नेता समेत रहेका उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेत पनि मुछिएका छन् ।

Published : Wednesday, 2024 April 3, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया