संसद अबरोधको परिस्थिति सरकारले नै बनायो : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने मागप्रति सरकार गैरजिम्मेवार देखिएको बताएका छन् ।

मंगलबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेका पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै डा.महतले संसदीय छानविन समिति बनाउन नदिएको कार्यले गृहमन्त्री लामिछानेमाथि आरोप पुष्टि हुने वातावरण बनेको बताए ।

डा.महतले कांग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताए ।

उनले सदनमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भएमा त्यसपछि उत्पन्न हुने पस्थितिको जिम्मेवार सरकार हुने बताए ।

‘संसदीय छानबिनले गृहमन्त्रीमाथि लागेको आरोप हो÷होइन भनेर थाहा हुन्थ्यो’, डा.महतले भने, ‘उहाँलाई यो अवसर पनि थियो ।’

‘हिचकिचाउनुपर्ने कुनै कारण थिए । तर, सरकारले हाम्रो मागलाई बेवास्ता ग¥यो’, प्रवक्ता डा.महतले भने, ‘यसले केही न केही समस्या रहेको देखाउँछ ।’

डा.महतले जबरजस्ती संसद अगाडि बढाउन खोजे कांग्रेसले अवरोध गर्ने बताएका छन् । ‘त्यो परिस्थिति सरकारले नै बनाएको हो’, उनले भने, ‘सदन अवरोध गर्ने अवस्था आयो भने कांग्रेस पछि हट्दैन ।’

Published : Wednesday, 2024 April 3, 9:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया