न्यारोबडी जहाज खरिदबारे १५ दिनभित्र जवाफ दिन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको विश्वास हुने गरी जवाफ पेस गर्न निर्देशन दिइएको सभापति राजकिशोर यादवले बताएका छन् ।

न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गर्ने सभापति यादवले बताएका छन् । उनले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा जानकारी माग गरेका छन् ।

सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिएका छन् ।

दुई हप्ताभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बदमासी नभएको विश्वास दिन जरुरी रहेको यादवले बताएका छन् ।

निगमले जहाज खरिदपछि बनाएको व्यावसायिक योजना पनि पेस गर्न समितिले निर्देशन दिएको छ ।

सभापति यादवले युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको बताएका छन् ।

Published : Monday, 2024 April 1, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया