सर्लाही प्रहरीद्वारा अहिलेसम्मकै ठूलो अबैध रकम बरामद

मलङ्गवा । जिल्ला प्रहरी कार्यालय सर्लाहीले हुण्डी कारोबार गर्ने दुईजनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।

मलङ्गवा नगरपालिका वडा नं. ९ स्थित सडकखण्डमा २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारीलाई २७ लाख ७५ हजार ९ सय ७० रुपियाँसहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताएका छन् ।

मलङ्गवा नगरपालिका वडा नं. ३ निवासी अली हुसेनको छोरा कमर राजाले बोकेको कालो रङ्गको झोलामा १ सय दरको नोट एक हजार थान गरी जम्मा १० लाख र लक्ष्मी सनराइज बैंक लिमिटेडको ९ लाख ९० हजार जम्मा गर्ने २ वटा भौचर समेत फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले रकम फेला पारपछि कमर राजालाई रकमको स्रोतका बारेमा सोधपुछ गरेको थियो । कमर राजाले स्रोत खुलाउन नसकेपछि रकमसहित प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

कमर राजासँग सोधपुछ गर्दा उनको बयानका आधारमा मलङ्गवा नगरपालिका वडा नं. ३ बस्ने आरिफ अंसारीले सञ्चालन गरिएको फोन सिटी मोबाइल पसलबाट ल्याएको बयान दिएका थिए ।

कमर राजालाई उक्त नगदसहित नियन्त्रणमा लिइ आरिफ अंसारीको पसलमा खानतलासी गरिएको एसपी ज्ञवालीले बताए ।

आरिफ अंसारीको पसलको ¥याकको तल खैरो रङ्गको कपडाको झोलाभित्र कालो प्लाष्टिकभित्र लुखाइ राखेको नेपाली रुपियाँ १ सय दरको १४५४ थानमा जम्मा १४ लाख ५४ हजार बरामद भएको छ ।

पाँच सय दरको नोट ६२२ थान समेत ३ लाख एघार हजार बरामद भएको छ । १ सय दरको नोट १०९ थानमा १० हजार ९ सय रुपियाँ पनि बरामद भएको छ । रु.५० दरको नोट १ थान र रु.२० दर को नोट १ थान बरामद भएको छ ।

पसलको ¥याकबाट बरामद भएको नेपाली रुपियाँ १७ लाख ७५ हजार ९७० र कमर राजाको साथबाट बरामद भएको रकमसहित जम्मा २७ लाख ७६ हजार ९ सय ७० रुपियाँ बरामद भएको एसपी ज्ञवालीले बताए ।

आरिफ अंसारीले लालबन्दी नगरपालिका वडा नं. ७ मा सञ्चालन गरेको फोन सिटी मोबाइल पसल रहेको भनि सूचना प्राप्त हुना साथ आरिफ अंसारीलाई सोही स्थानबाट नियन्त्रणमा लिएको एसपी ज्ञवालीले बताए । आरिफ अंसारीलाई सोधपुछ गर्दा बरामद रकमको स्रोत खुलाउन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

बरामद रकम हुण्डी कारोबारमा प्रयोग हुने रकम हुन सक्ने भएकोले कमर राजा र आरिफ अंसारी समेतलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ । हुण्डी कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी ज्ञवालीले प्रहरी निरीक्षक सविनकुमार कार्कीको नेतृत्वमा विशेष टोली खटाएका थिए ।

Published : Monday, 2024 April 1, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया