गोकुल बास्कोटामा जति नैतिकता गृहमन्त्री लामिछानेमा देखिएन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभामा तत्कालीन मन्त्रीहरूमाथि प्रश्न उठ्दा छानविन र अनुसन्धानका लागि मार्ग प्रशस्त गरेका धेरै उदाहरण रहेको बताएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका सांसद सञ्जयकुमार गौतमले तत्कालीन अर्थमन्त्री डा.रामशरण महतमाथि प्रश्न उठ्ता नैतिकताका आधारमा मार्ग प्रशस्त गरिदिएको बताए ।

‘कन्फिलिक्ट अफ इन्ट्रेस्टको कुरा पनि हो । यो कानूनी कुरा मात्रै होइन’, सहकारीको करोडौं रकम ठगी गरेको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गरेर गौतमले भने, ‘यो नैतिक पनि कुरा हो । नैतिकताका पनि धेरै उदाहरण छन् ।’

उनले भने, ‘एमालेका साथीहरूलाई पनि ध्यानाकर्षण गराउन चाहन्छु । तपाईहरू पनि प्रतिपक्षमा हुनुहुन्थ्यो । तत्कालीन अर्थमन्त्री डा.रामशरण महतका विषयमा प्रश्न उठ्यो ।’

उनले भने, ‘विदेशको खातामा डलर एकाउन्ट खोलेको छभनेर, उहाँ त वास्तवमा यूएनडीपीको जबमा हुनुहुन्थ्यो । त्यो विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभयो । छानविन गर्ने मार्ग प्रशस्त गरिदिनुभयो ।’

गौतमले भने, ‘यहि सदनमा गोकुल बास्कोटाजी सेक्युरिटी प्रेसको कुरा उठ्यो । उहाँले पनि त्यो बाटो देखाइदिनुभयो ।’

कांग्रेसका सांसद गौतमले एमालेका सांसद तथा तत्कालीन मन्त्री गोकुल बास्कोटाले देखाएको जति नैतिकता र इमान्दारिता पनि गृहमन्त्री रवि लामिछानेमा नरहेको बताएका थिए ।

‘तत्कालीन अर्थमन्त्री जनार्दन शर्माजीको विषयमा प्रश्न उठ्यो । उहाँले पनि बाटो देखाइदिनुभयो’, उनले भने, ‘जब नैतिक प्रश्न उठ्छ । कृष्णबहादुर महराका विषयमा पनि प्रश्न उठ्यो । तत्कालीन कानून मन्त्रीजीका विषयमा पनि प्रश्न उठ्यो । एउटा बाटो बन्यो । समस्या नैतिकताको पनि ठूलो प्रश्न हो । यो विषयमा सरकार गम्भीर हुनुपर्छ ।’

Published : Sunday, 2024 March 31, 2:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया