बागमती कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार ललितपुरमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले कांग्रेसका सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको हो ।

सभापति इन्द्रबहादुर बानियाँले भने, ‘माओवादी केन्द्रका नेता एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय भएको छ । कांग्रेसले विपक्षमा मत दिन्छ ।’

मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिन लागेका छन् । जम्कट्टेलले सरकार टिकाउन विभिन्न हर्कत गरिरहेका बेला कांग्रेसले विपक्षमा मत दिने भएको छ ।

बागमती प्रदेश सभामा १ सय १० सदस्य छन् । सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेलले ५६ मत जुटाउनु पर्छ ।

बागमती प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी)को ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको छ सिट छ ।

Published : Sunday, 2024 March 31, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया