आइजीपी कुँवरको नेतृत्व र भूमिकामाथि कांग्रेसले पहिलो पटक संसदमा गम्भीर प्रश्न उठायो

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरको नियत र भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको विषयमा प्रहरी प्रमुखको जवाफप्रति प्रश्न उठाएका हुन् ।

उनले भने, ‘प्रमुख प्रतिपक्षले उठाइरहेका कुराहरू गम्भीर छन् । गम्भीर प्रकृतिका छन् ।’

उनले भने, ‘प्रधानमन्त्रीजीले न्यायाधीश जस्तो, एकदमै हुकुम प्रमाङ्गी दिने, राजा माहाराजा जस्तो, एकदम क्लिन चिट दिने प्रयास गर्नुभयो ।’

‘त्यति मात्रै सुरक्षा निकायका प्रमुख जुन अहिले वर्तमान नेतृत्वमा हुनुहुन्छ उहाँले समेत यो विषयलाई फासफुस ढङ्गले क्लिन चिट दिने प्रयास गर्नुभयो’, आइजीपी कुँवरलाई चेतावनी शैलीमा गौतमले भने ।

‘यसले गर्दा हामीले उठाइरहेका मुद्दाहरूमा गम्भीर प्रश्नहरू जन्मिएको छ’, उनले भने, ‘हामी संसदीय समितिको माग गरिरहेका छौँ । लामो समयदेखि प्रमुख प्रतिपक्षको हैसियतले यो कुरालाई संसदमा उठाइरहेका छौँ ।’

‘प्रधानमन्त्रीको जवाफ । प्रहरी प्रमुखको जवाफ । र, विकसित घटना क्रमहरूले एउटा संशय पैदा भएको छ’, सांसद गौतमले प्रश्न गर्दै भने, ‘यसको न्याय निरुपण कसरी हुन्छ ?’

प्रश्न गर्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूले ठूलो माछा काखीमा च्यापेर सानो माछाको मात्रै खोजी गर्ने कुरा प्रतिवद्धता मात्रै देखाएर पुग्छ ?’

‘गम्भीर प्रश्न उठाएका छौँ । हामी चाहन्छौँ संसदीय छानविन समिति बनोस्’, सांसद गौतमले भने ।

कुँवरलाई आइजीपी बनाउन नेपाली कांग्रेसले अडान लिएको थियो । अहिले आएर कुँवरले कांग्रेसले अडान लिएको सहकारीको करोडौं रकम अपचलन र ठगी भएको विषयमा संसदीय छानविन समिति बनाउन अडान लिएका बेला गृहमन्त्री रवि लामिछानेलाई बचाउ गर्ने गरेर अभिव्यक्ति दिएपछि प्रमुख विपक्षी दल कांग्रेसले कुँवरको नेतृत्व र भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।

कांग्रेसले आइजीपीमाथि यसअघि यसरी नेतृत्व क्षमतमाथि प्रश्न उठाएको थिएन । कांग्रेसले सदनमा कुरा उठाएपछि आइजीपी कुँवरका खराब दिनको सुरुवात भएको चर्चा हुन थालेको छ ।

Published : Sunday, 2024 March 31, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया