एमाले निकट मानिने तोयम महालेखापरीक्षकमा सिफारिस

काठमाडौं । संवैधानिक परिषदले महालेखापरीक्षकमा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायलाई सिफारिस गरेको छ ।

आइइतबार बिहान बालुवाटारमा बसेको परिषदको बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो । रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भएको बेला राय अर्थ सचिव थिए । रायलाई एमाले निकट मानिन्छ ।

राय यसअघि राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवको जिम्मेवारी निभाएका छन् ।

महालेखापरीक्षक संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ ।

जेठ ७ गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखापरीक्षकको कार्यालय कार्यबाहकको भरमा चलिरहेको थियो ।

संवैधानिक परिषदको सचिवालयले साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरूसँग आवेदन मागेको थियो ।

रायसहित १६ जनाले महालेखापरीक्षक बन्न दाबेदारी प्रस्तुत गरेका थिए ।

आवेदन दिनेहरूमा पूर्वसचिव शिशिरकुमार ढुङ्गाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल, बाबुराम गौतम थिए ।

महालेखा परीक्षक बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा बीस वर्ष अनुभव प्राप्त गरेको व्यक्ति योग्य हुन्छ ।

Published : Sunday, 2024 March 31, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया