‘उहाँले एकपटक चार जना प्रमुख अतिथि बनाउनुभयो, चन्द–भट्टराई–गिरिजाबाबु–नेपाल’

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले रिपोर्टर्स क्लब नेपालले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् ।

शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले क्लबका सभापति ऋषि धमला देशका नेताहरू र प्रधानमन्त्रीभन्दा पनि जनताको रुचिको पात्र भएको बताए ।

उनले भने, ‘ऋषिजी निर्भिक पत्रकार हो । उहाँ मिसन तयार भएपछि त्यसमा पूरा गरेरै छाड्नुहुन्छ ।’

‘उहाँले एकपटक चार जना प्रमुख अतिथि बनाउनुभएको थियो’, उनले भने, ‘लोकेन्द्रबहादुर चन्द पनि प्रमुख अतिथि, बाबुराम भट्टराई पनि प्रमुख अतिथि, गिरिजाबाबु पनि प्रमुख अतिथि, माधव नेपालपनि प्रमुख अतिथि ।’

‘हामीले गिरिजाबाबुलाई नजान भन्यौं । तर, उहाँले कार्यक्रम गरेर छाड्नुभयो’, कांग्रेस नेता प्रधानले भने, ‘उहाँमा अद्भुत क्षमता छ ।’

नेता प्रधानले नेपालको संविधान भारत, बेलायत र अमेरिकाभन्दा पनि राम्रो संविधान भएको भन्दै प्रशंसा गरेका छन् ।

संसारकै उत्कृष्ट संविधान हुँदाहुँदैपनि जनतामा निराशा पैदा भएको भन्दै उनले यसको समीक्षा हुनुपर्ने बताए ।

प्रधानले नेपालका नेता भ्रष्टाचारमा चुर्लुम्म डुबेको भनेर जनतामा मानसिकता स्थापित भएको देखिएको भन्दै यसबारे सोच्नुपर्ने बताएका छन् ।

उनले गिरिजाप्रसाद कोइरालाले भनेझैं सहमति, सहकार्य र एकताको सूत्रमा अघि बढाउनुपर्ने बताएका छन् ।

Published : Saturday, 2024 March 30, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया