कांग्रेसका सांसद गुरुङलाई सर्वोच्च अदालतले न्याय दियो, निलम्बन फुकुवाको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा सुनुवाई भएको थियो । सुनुवाईपछि सर्वोच्चले गुरुङको सांसद पद निलम्बन फुकुवा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले गुरुङको निलम्बन त्रुटीपूर्ण रहेको भन्दै निलम्बनको निर्णय बदर गरिदिएको हो ।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर, कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए । गुरुङको निलम्बन फुकुवा भएसँगै कांग्रेसमा अब एक सांसद थपिएको छ ।

गुरुङलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो । विशेष अदालतको फैसलाविरुद्ध गुरुङ सर्वोच्च अदालतमा पुनरावेदन गर्न गएका छन् । उनले सर्वाेच्च अदालतबाट न्याय पाउने बताएका छन् ।

नेपाली कांग्रेसका नेता गुरुङ २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङको सांसद पद निलम्बन गर्न संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

Published : Friday, 2024 March 29, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया