ओलीले प्रचण्ड–नेपाललाई देखाइदिए हैसियत

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नयाँ गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन् ।

नयाँ गठबन्धनभित्र खटपट शुरु भएको भनेर चर्चा भइरहेका बेला ओलीले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूसँगको गठबन्धनलाई गठबन्धन नभन्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । ओलीले गठबन्धन भन्ने शब्दावलीलाई घिनलाग्दो भनेर आलोचना गरेका छन् । उनले अहिलेको गठबन्धनलाई समीकरण र सहयात्रा भनेका छन् ।

गृहजिल्ला झापामा बिहीबार आयोजित झापा एमालेको ११औँ अधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेले कसैसँग घाँटी नजोडेको बताएका हुन् । ओलीले अहिले नयाँ समीकरण निश्चित उद्देश्यको लागि मात्रै सहकार्य भएको बताएका छन् ।

‘गठबन्धन फुट्ने भएपछि हामीले थामेका हौं’, ओलीले भने, ‘यो समीकरणलाई भुलचुकमा पनि गठबन्धन नभन्नुहोला यो गठबन्धन होइन ।’ उनले भने, ‘कसैको कसैसँग घाँटी जोडिएको छैन । यो गठबन्धन जस्तो घिनलाग्दो कुरा होइन यो ।’

‘हिजोका गठबन्धन एमालेविरुद्ध थियो । तर, यो कसैको विरुद्ध होइन’, ओलीले भने, ‘यो समीकरण देश विकासको लागि हो । हामी एक ठाउँमा छौं ।’

एमालेका अध्यक्ष ओलीले भने, ‘एउटा उद्देश्यका लागि सहयात्रा गरेका हौं । हामीले संकल्पपत्र पनि सार्वजनिक गरिसकेका छौं ।’

‘यो समीकरण अनुकूल छ’, उनले भने, ‘एमाले आफ्नो नीति र हैसियताका साथ अगाडि बढेको छ ।’ ओलीले विपक्षी दलले सत्ताबाट बाहिरपछिको आक्रोश सदनमा पोखेको बताएका छन् । आफैंले प्रधानमन्त्री अफर गरेको व्यक्तिलाई गृहमन्त्री नस्वीकार्ने भन्दै तमासा गरेको उनले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेकै बेला ओलीले गठबन्धन भन्न अस्वीकार गरेका छन् ।

दुई दिन अगाडि पनि प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको भेटवार्तामा ओलीले पेलेर जाने अभिव्यक्ति दिएका थिए । अहिले आएर ओलीले नयाँ गठबन्धनलाई गठबन्धन नभनेर समीकरण भनेर व्याख्या गरेका छन् ।

Published : Thursday, 2024 March 28, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया