कम्युनिस्ट सरकारद्वारा पर्यटन बोर्डमा सदस्यहरू मनोनयन

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्यहरूमा मनोनयन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले सहसचिव डा.हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गरेको छ । बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको थियो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरू डा. हरिप्रसाद लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको थियो ।

चालू आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ रुपियाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८१–८२ का लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

Published : Thursday, 2024 March 28, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया