राष्ट्रिय बक्सिङको सेमिफाइनल को को प्रवेश

काठमाडौं । छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा तीन जना पुगेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा पुग्नेहरूमा पुलिस क्लबका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोका मगर रहेका छन् ।

पुरुष ६३.५ केजीको प्रतिस्पर्धा साग स्वर्णधारी भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द, निश्चलले एपीएफका सोनाम सार्की र खगेन्द्रले मधेश प्रदेशका मृनाल जोशीलाई हराएका छन् ।

पुरुष ५१ केजीमा भूपेन्द्रका भाइ चन्द्रबहादुर थापाले कोशी प्रदेशका फुङलाङ काम्बाङ, वाग्मतीका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुन, आर्मीका विमल घर्तीमगरले कर्णाली प्रदेशका लक्ष्मण राई र मधेश प्रदेशका रविन थापाले एपीएफका प्रदीप महर्जनलाई हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

पुरुष ७१ केजीमा एपीएफका बिक्रम चौधरीले मधेशका सुजित पराजुली तथा बागमतीका अश्विनधिरेन श्रेष्ठले लुम्बिनीका मनोज श्रेष्ठलाई हराएर सेमिफाइनलमा पुगे ।

पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले प्रहरीका प्रदीप पार्की तथा आर्मीका दिपेश लामाले एपीएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ५७ केजीमा पुलिसका निकेश देशारले एपीएफका पुरन राईबाट वाकओभर पाएर सेमिफाइनल तय गरेका छन् । सोही स्पर्धामा कर्णाली प्रदेशका सुलभ मालीले कोशीका डम्बरबहादुर श्रेष्ठ, सुदूरपश्चिमका विशाल जाग्रीले बागमतीका निराजन मोक्तान र आर्मीका प्रेम चौधरीले लुम्बिनी प्रदेशका मन्सुब बस्नेतलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

महिला ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेठ्ठी र आर्मीकी आरती ब्लोनले कोशीकी शीला राईलाई हराएर सेमिफाइनलमा पुगेका छन् ।

५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपीएफकी शर्मिला तामाङ र पुलिसकी निशा तामाङले मधेशकी अंशु केसीलाई हराएर सेमिफाइनल तय गरेका छन् ।

६० केजीमा आर्मीकी ललिता महर्जनले मधेशकी निश्मा गुरुङ र कोशीकी जोनु लिम्बुले सुदूरपश्चिमकी कविता सिंहलाई हराएर सेमिफाइनलमा स्थान बनाए ।

Published : Thursday, 2024 March 28, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया