मीनभवन प्रहरीद्वारा काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार पक्राउ पर्नेहरूमा काठमाडौंको शंखरापुर नगरपालिका–५ पालबारी बस्ने ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–४ घर भई हाल काठमाडौंको बुढनिलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दीको बेनी नगरपालिका–४ घर भई काठमाडौंको टोखा नगरपालिका–११ जाल्पाचोक बस्ने ३९ वर्षीय राममाया गुरूङ रहेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउमध्ये सुवासले युकेमा वोर्किङ भिषामा पठाइदिन्छु भन्दै नक्कली अफर लेटर देखाई पीडितबाट १६ लाख ८० हजार रूपियाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

महेन्द्रले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १२ लाख ठगी गरेको र राममायाले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ लाख रूपियाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले सुवासलाई काठमाडौंको पालबारी, महेन्द्रलाई काठमाडौंको जोरपाटी र राममायालाई काठमाडौंको कालीमाटीबाट पक्राउ गरिएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2024 March 27, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया