गृहमन्त्री लामिछाने र एआइजी ज्ञवालीका काण्ड बाहिरिएका बेला समितिले सचिव र आइजीपी बोलायो

काठमाडौं । सहकारी प्रकणमा मुछिएका गृहमन्त्री रवि लामिछाने र आर्थिक लेनदनमा मुछिएका सीआइबीका प्रमुख श्यामलाल ज्ञवालीका विषयमा अभियोग बाहिर आइरहेका बेला राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको छ ।

बुधबार सिंहदरबारमा बिहान ११ बजे समितिको बैठक बस्नेछ । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमा छलफल हुने समितिका उपसमिति बाबुराम बस्यालले बताएका छन् ।

गृहमन्त्री लामिछाने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम करोडौं अपचलन गरेको अभियोगमा मुछिएका छन् । लामिछानेविरुद्ध सहकारीका पीडितहरूले राज्य व्यवस्था समितिमा उजुरी दिएका छन् ।

गृहमन्त्री लामिछानेद्वारा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को प्रमुखमा ल्याइएका एआइजी ज्ञवालीले सुन तस्करी प्रकरणमा मुछिएका व्यवसायी जीवन चलाउनेसँग आइजीपी बन्न १ करोड ५० लाख माग गरेको विषयमा पनि तथ्यहरू बाहिर आएका बेला समितिको बैठक बस्न लागेको छ ।

समितिको बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरलाई बोलाइएको छ ।

लामिछानेलाई समितिको बैठकमा गृहमन्त्रीको हैसियतमा बोलाइएको छैन । लामिछाने समितिको पदेन सदस्य छन् । लामिछाने पनि समितिको बैठकमा सदस्यका रुपमा सहभागी हुने बुझिएको छ ।

Published : Tuesday, 2024 March 26, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया