डि पोपिना रेष्टुरेन्ट हत्याकाण्डका ४ जना पक्राउ, मुख्य आरोपी भगाउने १ जनाको खोजी

काठमाडौं । चक्कु प्रहार गरी ललितपुरमा हत्या गरेको घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा सुनसरी धरान उपहानगरपालिका–१३ जिरो घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका–६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भई ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने डि पोपिना रेष्टुरेन्टका संचालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२ रतन्छा घर भई ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने डि पोपिनाका संचालक ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भई ललितपुर महानगरपालिका– २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारूङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई रहेका छन् ।

प्रहरीले थप अनुसन्धानको लागि अन्य ८ जनालाई समेत नियन्त्रणमा लिएको छ ।

ललितपुरको ढोलाहिटीस्थित डि पोपिना रेष्टुरेन्टमा युवाहरूको समूहबीच विवाद हुँदा रेष्टुरेन्टका संचालक विजय राई समेतले रेष्टुरेन्ट भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरू अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।

प्रहरीले हाल फरार घटनाको मुख्य प्रतिवादीहरूलाई भगाउने १ जना व्यक्तिको खोजी गर्नुका साथै हत्याको घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

000

ढोलाहिटीमा धारिलो हतियार (चक्कू) प्रहारबाट दुइ जनाको मृत्यु


मिति २०८०।१२।११ गते अन्दाजी २२:०० बजेको समयमा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटी स्थित विजय राइ समेतले सञ्चालन गरेको D Popina रेस्टुरेन्टमा युवाहरुको समूह बीच विवाद हुँदा रेस्टुरेन्ट संचालक विजय राइ समेतले रेष्टुरेन्ट भान्सामा रहेको धारिलो हतियार (चक्कू) ले प्रहार गर्दा जिल्ला पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ६ स्थायी वतन भएको वर्ष २७ को पुजन राइको बायाँ तिघ्रामा गहिरो चोट लागी सख्त घाइते भई उपचारको लागी सुमेरू अस्पताल, धापाखेलमा ल्याइएको र जिल्ला सुनसरी धरान उ.म.न.पा. १३ जिरो प्वाइन्ट स्थायी वतन भएको वर्ष २८ को रेबस राइको छाती र कोखामा चोट लागी सख्त घाइते भई उपचारको लागि लगनखेल स्थित पाटन अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा दुवै घाइतेहरुको मृत्यु भएको । दुवै व्यक्तिहरुको शव पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको ।
पक्राउ परेका व्यक्तिहरु :-


१.जिल्ला खोटाङ साकेला गाउँपालिका वडा नं. २ सेखुवा स्थायी वतन भई हाल जिल्ला ललितपुर म.न.पा. वडा नं.२६ जैनखेल बस्ने होटल D Popina सञ्चालन गर्ने वर्ष ३१ को विजय राइ,
२.जिल्ला खोटाङ साकेला गाउँपालिका वडा नं. २ रतन्छा स्थायी वतन भई हाल जिल्ला ललितपुर म.न.पा.१५ खुमलटार बस्ने सोही होटलका अर्का संचालक वर्ष ३० को सुलभ राइ,
३.जिल्ला भोजपुर ट्याम्केमयुङ गाउँपालिका वडा नं. २ अन्नपुर्ण स्थायी वतन भई हाल जिल्ला ललितपुर, ल.पु.म.न.पा.२६ जैनखेल बस्ने वर्ष ३८ को विशाल हाङ मुकारूङ राइ,
४.जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. ११ स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका ६ सानागाउँ बस्ने वर्ष २५ को छेङ्बिहाङ राइ,
फरार प्रतिवादी:


घटनाको मुख्य प्रतिवादीलाई घ्टनास्थलबाट मोटरसाइकलमा भगाउने १ जना व्यक्ति भागी फरार रहेको हुँदा खोजतलास कार्य जारी रहेको ।
थप अनुसन्धानको लागि नियन्त्रणमा रहेका अन्य व्यक्तिहरू:


  1. जिल्ला खोटाङ दिप्रुङ गाउँपालिका वडा नं. १ याम्खाचा घर भई हाल ललितपुर जिल्ला, ल.पु.म.न.पा. २६ जैनखेल बस्ने वर्ष २७ को सुशील राइ ।
  2. जिल्ला खोटाङ दिप्रुङ गाउँपालिका वडा नं. १ याम्खाचा घर भई हाल ललितपुर जिल्ला, ल.पु.म.न.पा. २६ ढोलाहिटी बस्ने वर्ष ३२ को प्रदीप राइ ।
  3. जिल्ला धनकुटा शहिदभूमि गाउँपालिका वडा नं. १ घर भई हाल ललितपुर जिल्ला, इमाडोल सानागाउँ बस्ने भक्त बहादुर राइको छोरा वर्ष २९ को नाम्नु हाङ राई ।
  4. जिल्ला झापा गौरादह नगरपालिका वडा नं. ५ महारानीझोडा घर भई हाल काठमाण्डौं, नयाँ बानेश्वर बस्ने अर्जुन राइको छोरा वर्ष २७ को अनन्त राइ ।
  5. जिल्ला खोटाङ जन्तेढुंगा गा.पा. वडा नं. १ बुपुङं घर भई हाल ललितपुर, विशालचोक नख्खिपोट बस्ने महेश्वर राइको छोरा वर्ष २६ को विराट राइ ।
  6. जिल्ला सुनसरी १८ धरान, बुद्धचोक हाल जिल्ला ललितपुर, हात्तिवन बस्ने महेन्द्र राइको छोरा वर्ष २९ को अनिश राइ ।
  7. जिल्ला सुनसरी, धरान, सिद्धकाली चोक घर भई हाल ललितपुर जिल्ला, नख्खिपोट बस्ने वर्ष २१ को चिराक राई ।
  8. जिल्ला सुनसरी, धरान उ.म.न.पा. ६ बरगाछी घर भई हाल ललितपुर म.न.पा. १४ शोभाहिटी बस्ने वर्ष २९ को साहिल श्रेष्ठ ।
Published : Tuesday, 2024 March 26, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया