गठबन्धन भत्काउन सहयोग गरेका खनाललाई इलाम- २ मा ओलीले झट्का दिए

काठमाडौं । इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको टिकटमा एमालेको निर्णयले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई झट्का लागेको छ ।

नेपाली कांग्रेससँगको गठबन्धन भत्काउन सहयोग गरेमा खनाललाई इलाम– २ को उपनिर्वाचनमा सहयोग गर्ने आश्वासन एमालेका अध्यक्ष केपी ओलीले दिएका थिए । उपनिर्वाचनमा एमालेको सहयोग पाउने आश्वासन पाएका कारण नेता खनालको दवावमा नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा जान दवाव दिएका थिए ।

खनालकै जोडबल र दवावमा नेकपा (एकीकृत समाजवादी) कांग्रेससँगको गठबन्धन भत्काएर एमाले र माओवादी केन्द्रको गठबन्धनको कम्युनिस्ट सरकारमा सहभागी भएको थियो ।

अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री खनाललाई उपनिर्वाचनमा सहयोग गर्न अस्वीकार गर्दै एमालेबाट सुहाङ नेम्वाङलाई टिकट दिने निर्णय भएको छ । इलाम–२ मा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।

ललितपुरमा आइतबार बसेको एमालेको सचिवालय बैठकले स्व.सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिएर उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

ज्ञवालीले भने, ‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ ।’

सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि इलाम– २ मा उपनिर्वाचन हुन लागेको छ । इलाम–२ को उपनिर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङसँगै बुद्धि खनाल, रविन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राईले दाबी गरेका थिए ।

Published : Sunday, 2024 March 24, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया