विद्युतको लापरबाहीका कारण देउखुरीको राप्ती–३ मा करेन्ट लागेर ३ जनाको मृत्यु

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. ३ बाघड्डी चोकमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो करेन्ट लागेर ५५ वर्षीया दिलसरा केसी, उनका पति ६० वर्षीय गोरखबहादुर केसी र ४ वर्षीय नाती कृष्ण केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार विद्युतको पोलबाट तार चुडिएर घरको आगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाती कृष्णको घटनास्थलमै मृत्यु भएको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

नेपाल विद्युत प्राधिकरणको पोलको तार एक्कासि चुँडिएर घरको आँगनमा खस्दा उनीहरूको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।

घण्टदेव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवम् स्थानीय समाजसेवी दुर्योधन पाण्डेले बिजुलीको पोलबाट तार चुडिएर ठूलो मानवीय क्षति भएको बताए । उनले भने, ‘बिजुलीको तार चुडिएर करेन्ट लागेर मानवीय क्षति भयो । मृतकका आफन्तलाई नेपाल विद्युत प्राधिरकणले उचित क्षतिपूर्ति दिनुपर्छ । भविष्यमा यस्ता दुर्घटना हुन नदिन बेलाबेला बिजुलको पोल र तारहरूको कर्मचारीहरूले अनुगमन गर्नुपर्छ ।’

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूको लापरबाहीका कारण धेरै ठाउँमा यस्ता दुर्घटनाहरू दोहोरिएका छन् । कर्मचारीहरूले समय समयमा पोल र तारको अनुगमन गरेर मर्मत सम्भार नगर्दा दुर्घटना हुने गरेको आरोप छ ।

Published : Saturday, 2024 March 23, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया