कांग्रेस सांसद चौधरीद्वारा गोडैतामा ३३० परिवारलाई ग्यास चुलोको सेट निःशुल्क प्रदान

गोडैता । नेपाली कांग्रेसकी सांसद समेत रहेकी नेपाल भारत महिला मैत्री समाज काठमाडौंकी अध्यक्ष चन्दा चौधरीले दलित र अति विपन्न परिवारलाई खाना पकाउने ग्यासको सिलिण्डर) र चुलो निःशुल्क वितरण गरेकी छिन् ।

शनिबार सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नं. ८ स्थित श्री बेणी भोला नमूना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सिलिण्डर र चुलोको सेट हस्तान्तरण गरिएको छ ।

समाजलाई सिलिण्डर र चुलो भारत सरकारको साना विकास परियोजनाअन्तर्गत प्राप्त भएको थियो ।

गोडैता नगरपालिकाका ३३० अति विपन्न तथा दलित परिवारलाई निःशुल्क सिलिण्डर र चुलो वितरण गरिएको सांसद एवम् अध्यक्ष चौधरीले बताएकी छिन् ।

चौधरीले नेपाल र भारतबीच पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताएकी छिन् । उनले भारतबाट हुने यस किसिमका सहयोगले नेपाल–भारतका जनताबीच अझ मजबुत सम्बन्ध बनाउन सहयोग हुने बताएकी छिन् ।

उनले भनिन्, ‘मेरो मुख्य उद्देश्य नै दलित र अति विपन्न परिवारका महिलाहरूको आर्थिक, सामाजिक रुपमा उत्थान गर्नु रहेको छ । यस किसिमका सहयोगले महिलाहरूको स्वास्थ्यमा सुधार हुनुका साथै समयको पनि बचत हुनेछ ।’

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहले भारत सरकारको सहयोगले नेपाली जनतालाई मद्दत पुग्ने बताएका छन् । उनले नेपाल र भारतबीचको सम्बन्धलाई झन् बजबुत बनाउन यी र यस्ता सहयोगको ठूलो महत्व हुने बताए ।

गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादवले आफू नगरपालिकालाई धुवाँ धूलोमुक्त नगरपालिका बनाउन अग्रसर रहेको बताए ।

नेपाल–भारत महिला मैत्री समाजले अहिलेसम्म सप्तरीको तिरहुत गाउँपालिका, सर्लाहीको कौडेना नगरपालिका, गोडैता नगरपालिकामा निःशुल्क ग्यास सिलिण्ड र चुलो वितरण गरेको छ ।

अब छिट्टै रौतहटका दुई स्थानीय तहमा पनि निःशुल्क ग्यासको सिलिण्ड र चुलोको सेट वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष चौधरीले बताएकी छिन् ।

Published : Saturday, 2024 March 23, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया