सर्वोच्चका अधिवक्ताको खुलासा – सहकारी ठगीमा जीबी र रविविरुद्ध प्रशस्त प्रमाण छ

काठमाडौं । सर्वोच्च अदालतमा बहस गर्दै आएका अधिवक्ता स्वागत नेपालले देशमा शासन अपराधीहरूले गरेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कारमा उनले नेपालका नेताहरूमा अपराधीमा हुनुपर्ने कानूनले तोकेको अयोग्ता पूर्ण रुपमा रहेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पाँच हजार मारेको हुँ, पाँच हजारको जिम्मा लिन्छु भनी अभिव्यक्ति दिएको बताए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारलाई विश्वासको मत दिने शर्तमा दोहोरो राहदानीको मुद्दाबाट उन्मुक्ति पाएको उनले बताएका छन् ।

अधिवक्ता नेपालले भने, ‘नेपालमात्रै एउटा यस्तो देश हो, जहाँ औपचारिक रुपमा, प्रमाणित रुपमा अपराधीहरुले शासन गरिरहेका छन् । प्रधानमन्त्री स्वयं म पाँच हजार मारेको जिम्मा लिन्छु भन्नुहुन्छ सार्वजनिक रुपमा ।’

‘गृहमन्त्री स्वयं दुई वटा राहदानी बोकेर हिँड्ने मान्छे हो । उहाँलाई मुद्दा नचलाउने मात्रै निर्णय भएको हो, महान्यायधिवक्ताको कार्यालयबाट’, उनले भने, ‘एउटै शर्तमा कि– उहाँले सरकारलाई विश्वासको मत दिने प्रतिवद्धता जनाउनु भएको थियो ।’

देशमा भइरहेका विभिन्न भ्रष्टाचार र काण्डबारे अनुसन्धान गर्ने हो भने पहिलो अनुसन्धान रवि लामिछानेबाटै हुनुपर्ने उनको भनाइ छ ।

लामिछानेको दोहोरो राहदानी, सहकारी ठगीलगायतका प्रकरणहरू छानविन हुनुपर्ने उनको भनाइ छ ।

अधिवक्ता नेपालले सहकारी ठगी प्रकरणमा गितेन्द्रबाबु राई (जीबी)विरुद्धमा जति प्रमाण छन्, लामिछानेविरुद्ध पनि उत्तिकै प्रमाण रहेको उनले बताए ।

‘दोहोरो पासपोर्टमा र सहकारी ठगीमा । सहकारी ठगीमा उहाँका विरुद्ध जति प्रमाणहरु छन्, त्यतिनै प्रमाण भएको कारणले मात्रै जिबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो’, उनले भने ।

‘जति प्रमाण जीबी राईका विरुद्धमा छन् । उहाँका सम्बन्धमा पनि त्यतिनै छन् । एउटालाई पक्राउ पुर्जी जारी हुने, अर्कोलाई नहुने किन ?’, अधिवक्ता नेपालले प्रश्न गरेका छन् ।

लामिछानेविरुद्ध सहकारी ठगीमा पुरक जाहेरी दरखास्त दर्ता भएको उनले बताए । सहकारी ठगीमा लामिछानेलाई प्रधानमन्त्रीले संसद्मा आएर बचाउ गरेको उनको भनाइ छ ।

प्रचण्ड आफैं न्यायाधीश बन्न खोजेको उनको आरोप छ । गृहमन्त्री लामिछानेलाई बचाउने सवालमा प्रधानमन्त्री प्रचण्डले केपी ओलीले विगतमा गरेको गल्ती दोहोर्‍याएको अधिवक्ता नेपालले बताए ।

सहकारी ठगी प्रकरणमा कांग्रेसले विरोध जनाउँदा ‘कांग्रेस चाहिँ दुधले नुहाएको पार्टी हो त ? तिमीले चाहिँ खान हुने, हामीले नहुने ? अब हाम्रो पालो हो’ भनेर लामिछानेले भनेको अधिवक्ता नेपालले बताएका छन् ।

Published : Friday, 2024 March 22, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया