सहकारी ठगी काण्डमा आउँदो सदनमा छानविन समिति गठन नभए संसद अबरुद्ध हुन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले आउँदो सदनमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन भएको विषयमा छानविन गर्न संसदीय समिति गठनको माग गरेकी छिन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सहकारीको रकम अपचलनको विषयमा छानविन समिति गठन नभएमा सदन अबरुद्ध हुने चेतावनी दिएकी छिन् ।

उनले गृहमन्त्री रवि लामिछाने जोडिएको घटनाको निष्पक्ष छानविन गर्न संसदीय समिति गठन आवश्यक रहेको बताइन् ।

‘प्रधानमन्त्रीजीले बोल्नुभयो हिजो, प्रमाण छैन, हिनामिना भएको छैन भन्नुभयो । उहि केशमा दीपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने, उ पक्राउ नपर्ने ? उहाँ गृहमन्त्रीको पद खाइराख्ने हामी हेरिराख्ने ?’, उनले प्रश्न गर्दै भनिन् ।

गृहमन्त्री लामिछानेले सार्वजनिक रुपमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चार वर्षसम्म सदन अबरुद्ध गरोस् भनेर गैह्रजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सांसद न्यौपानेले अपात्ति जनाएकी छिन् ।

उनले भनिन्, ‘अझै गैह्रजिम्मेवार कुरा । बाहिर गएर बोल्नुभयो, उपप्रधानमन्त्री । सरकारका उपप्रधानमन्त्रीले प्रतिपक्षलाई च्यालेञ्ज गर्दै प्रतिपक्षले चार वर्ष सदन अबरुद्ध गरोस् । हामी चलाइ रहन्छौँ । हामी सत्ता हाँकीरहन्छौँ ।’

‘कसरी चल्छ सत्ता ? गृहमन्त्रीजीले बाहिर बोल्नुभएको कसरी चल्छ ? गृहमन्त्रीजीले हामीले सत्ता चलाइरहन्छौँ, तिमीले सदन बन्द गर भन्नुभयो । यो हुन्छ ? प्रमुख प्रतिपक्षले सदन बन्द गर्दा सदन चल्छ ?’, सांसद न्यौपानेले प्रश्न गर्दै भनेकी छिन् ।

उनले भनिन्, ‘बजेटको बेला सदन उहाँलाई चाहिएको छैन । सदन हामीलाई चाहिएको छ । बजेटको गाम्भिर्यतालाई हामीले बुझेका छौँ ।’

सांसद न्यौपानेले गृहमन्त्री लामिछानेलाई प्रश्न गर्दै सहकारीको रकम अपचलन र ठगी प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन किन डराउनु पर्‍यो भनेकी छिन् ।

‘छानविनको मागलाई किन डराउनु पर्‍यो ? हिजो यहि हाउसबाट छानविन समिति बनेको छैन ? बालकुमारी घटना त ताजै छ’, उनले भनिन् ।

‘उफ्रीउफ्री यहिँ कुदिरहनुभएको छ । आयोग गठन गर्नुपर्‍यो, समिति गठन गर्नुपर्‍यो, आज उहाँको विषयमा समिति गठन गर्नुपर्‍यो भन्दा समिति नै गठन गर्न नहुने ? उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यहिँ जन्मिएका हौँ । उहाँ मात्रै एकजना निस्किनुभएको हो ? किन डराउनु पर्‍यो त्यसरी ? झन शंक उब्जिएको छ’, उनले भनेकी छिन् ।

‘आउँदो सदनमा समिति गठन भएन भने उपप्रधानमन्त्रीजीले बाहिर भन्नु भए जस्तै, उहाँले सोँच्नु भएको जस्तै प्रमुख प्रतिपक्षले सदन अबरुद्ध गरिदिए हुन्थ्यो, मेरो बिरोधमा आवाज उठाउने एकजना नभएर काम जसरी पनि मेरो इच्छाले काम गर्न पाए हुने थियो भनेर नै उहाँले नै सदन अबरुद्ध गरेको ठहरिनेछ’, सांसद न्यौपानेले चेतावनी दिएकी छिन् ।

‘११ पुस २०८९ मा पहिलो पटक गृहमन्त्रीको शपथ लिँदा होस् वा दोस्रो पटक गृहमन्त्रीको शपथ लिँदा होस् नैतिक, राजनीतिक र कानूनी प्रश्नले मात्रै घेरिनु भएको छ, हाम्रो गृहमन्त्रीज्यू । पहिलो पटक नागरिकताको विषय थियो’, उनले भनिन् ।

‘देशको गृहमन्त्री, गृहमन्त्रीबाट राजीनामा दिएर लाइनमा बसेर नागरिकता लिनुभयो । यो घटना विश्व रेकर्डमै होला । दोस्रो पटक सहकारीको रकम हिनामिनामा पर्‍यो’, उनले भनिन् ।

‘गृहमन्त्रीज्यूको नाम जोडियो । केही दिन अगाडि सबै पार्टी मिलेर सरकार चलाउनुस्, हामी प्रतिपक्षमा बसेर खबरदारी गर्छौ, जनताको कुरा उठाउँछौँ भन्दै हुनुहुन्थ्यो’, सांसद न्यौपानेले भनिन् ।

‘बुरुक्क उफ्रिएर स्वार्थ बाझिएको मन्त्रालय किन चाहियो ? आज बुझ्यौँ हामीले स्वार्थ जोडिएको मन्त्रालय उहाँलाई किन चाहिएको रहेछ ?’, उनले प्रश्न गर्दै भनेकी छिन् ।

उनले भनिन्, ‘किनकि हिजो नागरिकताको विवाद थियो । त्यो मिलाउनु थियो । सहकारीको विवाद छ त्यो मिलाउनुछ ।’

Published : Wednesday, 2024 March 20, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया