वीरगञ्ज भन्सारबाट तस्करी र राज्यलाई कसरी नोक्सानी भइरहेको छ ? सांसद यादवको खुलासा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रमुख सचेतक प्रदीप यादवले भन्सार हुकुमी शैलीमा चलिरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै यादवले भने, ‘किनभने आयातकर्ताले भन्सार मूल्यको पुस्तिकाभन्दा कम मूल्यको बिलबिजक पेश गरेमा भन्सारले ५० प्रतिशत पेनाल्टी तोक्छ ।’

‘आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अन्त शुल्कमा समेत पेनाल्टी लिने प्रावधान राखिएको छ । पेनाल्टी जोगाउन आयातकर्ताले भन्सार किताबभन्दा बढीको बिलबिजक पेस गर्छन् र सोहीअनुसार एलसी पनि खुल्छ । जसले गर्दा नेपाली भन्सारमा पेनाल्टी लाग्दैन ।’

‘अर्कोतिर बिलबिजकको वास्तविक मूल्यभन्दा बढी पठाएको रकम अवैध हुण्डीको माध्यमबाट नेपाल फर्किन्छ’, उनले भने, ‘तसर्थ भन्सार मूल्यांकन किताब तथा अन्तशुल्कमा लगाएको पेनाल्टी गर्दा अवैध कारोबारलाई प्रोत्साहित गरिएको देखिन्छ । यसकारण पेनाल्टी लिने प्रावधान हटाउन जरुरी छ ।’

‘स्वदेशी उद्योगको प्रोत्साहन गर्नुछ भने पहिलो त डिप्टीमा फरक राख्नुपर्छ । हाम्रो भन्सारमा कच्चा पदार्थको डिप्टी महंगो छ, तयारी पदार्थमा सस्तो छ’, उनले भने, ‘यसको कारण स्वदेशी उद्योग पनि डुबीरहेको छ । उदाहरणको रुपमा काँचो दाल (गोरो/मसुरो)मा १० प्रतिशत भन्सार लाग्छ ।’

‘तयारी दालको रुपमा आउँछ भने ९ प्रतिशत भन्सार लाग्छ । अनि स्वदेशी उद्योग कसरी बढावा भयो ? कच्चा पदार्थ आउँदा १० प्रतिशत कर लाग्ने, तयारी सामान आउँदा ९ प्रतिशत लाग्ने हुँदा स्वदेशी उद्योग त डुब्छ’, उनले भने, ‘अर्को धानमा पनि त्यस्तै छ । भारतबाट नेपालमा धान आउँदा भारतलाई २० प्रतिशत कर तिर्नुपर्छ । ५ प्रतिशत नेपाली भन्सारमा कर लाग्छ ।’

‘२५ प्रतिशत तिरेर नेपालमा धान ल्याएर उद्योगीले चामल उत्पादन गरेर विक्री गर्दा महंगो पर्छ । यसकारण अहिले तस्करलाई मजा भएको छ’, उनले भने, ‘भारतमा प्रत्येक केजी चामलमा ५ रुपैयाँ सस्तो छ । भारतमा सस्तो भएकाले सिधा बोर्डरबाट खुलेयाम तस्करी गरेर नेपाल ल्याइँदैछ ।’

‘सानो सानो वस्तु जस्तै काजुको कुरा गर्ने हो भने नेपाली भन्सारमा प्रतिकेजी ६ सय रुपियाँ भन्सार लाग्छ । त्यही काजु प्रत्येक केजी सय रुपियाँमा तस्करहरू काठमाडौं पुर्‍याइरहेको छ’, उनले भने, ‘मलाई जहाँसम्म याद छ, माननीय अर्थमन्त्रीज्यू जुन काजु खानुहुन्छ, त्यो तस्करले काठमाडौं पुर्‍याएको काजु नै खानुहुन्छ ।’

‘हामी पनि काठमाडौं बसेर खान्छौं । किनकि काजुको भन्सार भइरहेको छैन । अर्थमन्त्रीजीले कर्मचारीबाट तथ्याङ्क लिए हुन्छ । जुन पनि काजु आइरहेको छ, त्यो सबै तस्करी भएर आइरहेको छ’, यादवले भने, ‘भुजिया, काजुलगायत सानो सानो सबै तस्करीमा आइरहेको छ ।’

‘नयाँ अर्थमन्त्रीलाई मेरो सुझाव के छभने भारतमा ४ देखि २८ प्रतिशतसम्म रहेको जिएसटीलाई कर निर्धारण गरौं । भारतमा ४ प्रतिशत कर छ, तपाई १३ प्रतिशत लिनुहुन्छ भने निश्चित रुपमा तस्करी हुन्छ’, यादवले भने, ‘यस्तो नीतिले तस्करलाई बढावा दिइरहेको छ । यसमा अर्थमन्त्रीले गम्भीर रुपमा विचार गर्नुपर्छ ।’

जसपाका प्रमुख सचेतक यादव पर्सा जिल्लाबाट निर्वाचित सांसद हुन् । वीरगञ्ज भन्सारबाट प्रहरी, भन्सार कर्मचारी, बिचौलियाको मिलोमतोमा हुने हरेक तस्करीको जानकारी यादवलाई भएकै कारण तथ्याङ्कसहित संसदमा बोलेका छन् ।

पर्सा जिल्लामा जान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सारका कर्मचारीहरू मोटो रकम बुझाएर जाने गरेको आरोप लाग्दै आएको छ । वीरगञ्ज भन्सार नेपालको सबैभन्दा ठूलो भन्सार नाका मानिन्छ ।

Published : Wednesday, 2024 March 20, 8:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया