नक्कली खाता खोलेर सहकारीको १ अर्ब ३५ लाख लैजाने नाम हो- रवि लामिछाने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारीको अर्बौं रकम अपचलन गरेको अभियोगमा गृहमन्त्री रवि लामिछानेका विषयमा अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न माग गरेका हुन् ।

उनले भने, ‘मानिसको पैसा ठगी गर्ने सहकारीमध्ये एक सहकारी हो– पोखराको सूर्य दर्शन सहकारी । करिब १९ हजार मानिसको १ अर्बभन्दा बढी पैसा त्यहाँभित्र अपचलनमा परेको छ ।’

‘पोखरा महानगरले अध्ययन गर्‍यो । रिपोर्टमा नक्कली खाता खोलेर करिब–करिब १ अर्ब ३५ लाख रूपयाँ अपचलन गरेको छ’, थापाले भने ।

‘नक्कली खाता खोल्ने मानिसहरू मध्येको एउटा नाम हो– रवि लामिछाने’, सांसद थापाले भने ।

कांग्रेसका सांसद थापाले भने, ‘रवि लामिछाने माननीय हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नु होला । शुभकामना छ । बन्न पनि सक्नुहुन्छ– अलग विषय हो । तर, रवि लामिछानेले १ करोड रूपयाँ लिनुभएको छ ।’

‘सहकारीको सदस्य हुनुहुन्न । कानूनको दफा ५० ले भन्छ– यो गैरकानूनी छ’, थापाले भने ।

गृहमन्त्री लामिछाने सञ्चालक रहेको तत्कालीन ग्लोबल गोर्खा नेटवर्कले पनि ५०औँ करोड ठगी गरेको भन्दै उनले कसैलाई पनि अनुसन्धानमा छाड्न नहुने बताएका छन् ।

‘यस विषयमा उहाँको स्पष्टीकरण सुनेँ’, सांसद थापाले भने, ‘कसैले मेरो नाम लगे होला मलाई थाहा छैन । मान्ने हो भने १०० जनकै रिपोर्ट मैले पढेँ । कसैको धितो छैन । कुनै प्रक्रिया पूरा गरिएको छैन ।’

‘एक अर्ब रूपियाँ झ्वाम् । छाड्ने नै हो भने एक जनालाई छाडेर हुँदैन’, थापाले भने, ‘सबैलाई छाड्नुपर्छ । सरकार यो गर्न तयार हो ?’

उनले अनुसन्धान राम्रोसँग गर्ने हो भने अन्य ठूला नेताको नाम आउने बताएका छन् । यस विषयमा मुछिएको मान्छेले त्यस्तो अनुसन्धान गर्ने कुरामा कांग्रेको आशंका रहेको थापाले बताएका छन् ।

Published : Monday, 2024 March 18, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया