जीबी–रविको गोर्खा मिडिया र ग्यालेक्सीद्वारा सहकारीको अर्बौं अपचलन, छानबिन गरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शुरुमा विशेष समय लिएर बोल्दै थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताएका हुन् ।

‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ’, उनले भने, ‘यो समूहले अर्बौं रुपियाँ अपचलन गरेको छ । र, त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ ।’

थापाले भने, ‘मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरूको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने ।’

उनले भने, ‘अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने ?’

थापाले सहकारी प्रकरणको अनुसन्धान हुन्छ कि हुन्न भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोस्टममा उभिएर जवाफ दिनुपर्ने बताए ।

सांसद थापाले सहकारी प्रकरणलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘सहकारी काण्डमा पनि शक्तिशाली होस्, लोकप्रिय होस्, नयाँ होस् तर, गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस् ।’

‘यति भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौं ? यो सदनलाई प्रश्न हो’, थापाले भने, ‘यो कुनै एउटा पक्षको कुरा होइन, सिंगो सदनको विवेकमाथिको प्रश्न पनि हो ।’

महामन्त्री थापाले सहकारी प्रकरणबारे प्रधानमन्त्री दाहालबाट जवाफ आउनुपर्ने बताए ।

उनले भने, ‘हामीले यो विषय गम्भीरतापूर्वक उठाएका छौं, यसको जबाफ प्रधानमन्त्रीजीबाट चाहन्छौं । सभामुखलाई पनि मेरो अनुरोध छ– यो प्रश्नलाई यत्तिकै मर्न नदिऔं । सहकारी प्रकरणको अनुसन्धान निष्पक्ष ढंगबाट हुन्छ भन्ने विश्वास हामीलाई चाहिएको छ ।’

‘अनुसन्धान निष्पक्ष हुन्छ भन्ने प्रधानमन्त्रीले हामीलाई कसरी विश्वास दिलाउनु हुन्छ हामी सुन्न चाहन्छौं’, उनले भने ।

‘हामी सरकार र सदनलाई अप्ठेरो पार्न चाहन्नौं । के यी कांग्रेसका निजी प्रश्न हुन् ?’, प्रश्न गर्दै थापाले भने, ‘सडकमा बसेका हजारौं सहकारी पीडितको पैसा फिर्ताको ग्यारेन्टी होस् ।’

थापाले सत्तासीन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको सरकारलाई धन्यवाद दिएका छन् ।

महामन्त्री थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् । ‘केही समयअगाडि तत्कालीन प्रतिपक्षी नेकपा एमालेले जोडदार ढङ्गले उठायो’, उनले भने, ‘सुन तस्करी प्रकरणमा शक्तिशाली मान्छे संलग्न भएका छन् । त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुङ्गोमा पुग्न सक्दैन ।’

उनले भने, ‘शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’

सुन छानबिन आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न नहुने भन्दै सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए । ‘तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । योसँगै हामीलाई एउटा कुरा सिकाएको छ । त्यो बेला नेकपा एमालेले जोडदार ढङ्गले आवाज नउठाएको भए । आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ’, उनले भने ।

Published : Monday, 2024 March 18, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया