स्वर्णिम वाग्लेलाई स्वर्णिम वाग्ले बनाएको कांग्रेसले हो, धेरै अहँकार नगरे हुन्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेलाई हैसियतमा बस्न चेतावनी दिएका छन् ।

आइतबार राति हिमालय टेलिभिजनको यज्ञ प्रश्न कार्यक्रममा अन्तर्वार्ताका क्रममा नेता सिटौलाले स्वर्णिम वाग्लेलाई अहँकार नगर्न सुझाव दिए । विद्वान मान्छेले नम्र भएर बोल्छ भन्ने सुनेको बताउँदै उनले स्वर्णिम वाग्लेलाई स्वर्णिम बनाएको कांग्रेस रहेको बताए ।

प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद समेत रहेका नेता स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले बाटोमा माला लगाइदिएर प्रधानमन्त्री बनाइदिन्छ कि भनेर डराएर हिँड्नु परेको अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिको खण्डन गर्दै सिटौलाले स्वर्णिम वाग्लेहरू औकातमा बस्नुपर्ने सचेत गराएका हुन् ।

सिटौलाले भने, ‘स्वर्णिम वाग्लेजीको अहँकार हो । धेरै अहँकार नगरे हुन्छ उहाँले । उहाँलाई स्वर्णिम वाग्ले भनेर चिनाएको पनि कांग्रेसले नै हो भन्ने कुरा उहाँले बुझ्न सक्नुपर्छ ।’

‘धेरै बताउँदिन । उहाँ विद्वान मान्छे हैन ?’, प्रश्न गर्दै नेता सिटौलाले भने, ‘विद्वान मान्छेमा अहँकार हुँदैन नम्रता मात्रै हुन्छ भन्ने सुनेको हो । उहाँल नम्रतापूर्वक राजनीति गर्नु उहाँकै हितमा हुन्छ ।’

Published : Monday, 2024 March 18, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया