नाउपा र मनाङेको निर्णयले सुदूरपश्चिम र गण्डकीमा कांग्रेसको सरकार बहुमत नजिक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले सरकारमा समर्थन कायम राख्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री समेत रहेका दलका नेता घनश्याम चौधरीले भने, ‘हामी अहिले पनि यही सरकारमा छौँ, यसलाई कायमै राखेर जाने निर्णय भएको छ । अहिलेकै सरकारलाई समर्थन गरेर जान्छौँ ।’

बैठकमा नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्ये पाँचजनाको उपस्थिति रहेको थियो । उपस्थित पाँचैजना प्रदेश सरकारका मन्त्री हुन् । बैठकमा सांसद कैलाश चौधरी र टीका थापा भने अनुपस्थित थिए ।

दुवैजना उपचारका लागि काठमाडौं गएकाले बैठकमा सहभागी हुन नसकेको दलका नेता चौधरीले बताएका छन् । नागरिक उन्मुक्तिले समर्थन कायम राख्ने निर्णय गरे पनि मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा छन् ।

प्रदेश सभामा एक सांसद रहेको राप्रपा र स्वतन्त्र सांसदले समर्थन गरेको अवस्थामा भने सरकारको पक्षमा बहुमत पुग्छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सिट आवश्यक पर्छ ।

सत्तापक्षमा अहिले कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात गरी २५ सदस्य छन् । नाउपाको निर्णयले सुदूरपश्चिम प्रदेश बहुमतको नजिक पुगेको छ ।

उता, नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले दल त्यागेको जानकारी गराएका छन् ।

स्वतन्त्रबाट जितेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका गण्डकी सांसद मनाङेले दल त्यागेको जानकारीसहित आफूलाई स्वतन्त्र हैसियत दिन माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका हुन् ।

आफूले स्वतन्त्रबाट जितेर आएकाले सोही हैसियत दिलाइदिन माग गर्दै निवेदन परेको प्रदेश सभाका सचिव हरिराज पोख्रेलले जानकारी दिएका छन् ।

मनाङेले केन्द्रकै गठबन्धन गण्डकीमा कायम रहँदा पनि एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत पुर्‍याउन सहज अवस्था नभएको बताएका छन् ।

प्रदेशसभा विघटन हुने र मद्यावधिमा जान सक्ने खतरालाई रोक्न आफूले स्वतन्त्रको हैसियतमा जाने कदम चालेको बताएका छन् ।

‘मद्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको विदितै छ’, उनले भने ।

मनाङेले आफू कांग्रेस नेतृत्वको सरकारको पक्षमा उभिने संङ्केत गरेका छन् । मनाङगेको समर्थन रहँदा झिनो मतले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मतभन्दा केही पर छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमाले २२, माओवादी ८, राप्रपा २ र मनाङे सांसद छन् ।

Published : Sunday, 2024 March 17, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया