प्रचण्ड प्रधानमन्त्री भएकै बेला किन हुन्छ माओवादी नेता कार्यकर्ताहरूमाथि आक्रमण ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धका बेला आफूलाई साथ दिएका नेता कार्यकर्ताहरूलाई गुमाउँदै गएका छन् ।

ज्यानको समेत प्रवाह नगरेर दाहाललाई साथ दिएका नेताहरूलाई विभिन्न बहानामा धमाधम दु:ख दिन थालिएको छ । दाहाल मुलुकको प्रधानमन्त्री छन् । प्रधानमन्त्री भएका बेला वा सत्तामा माओवादी सत्तामा रहेका पार्टीका नेता कार्यकर्ताले निकै कष्ट र दु:ख पाएका छन् ।

हजारौं लडाकुहरू र गाउँका कार्यकर्ताले युद्धका बेलाको पीडा र घाउ शरीरमा लिएर हिँडेका छन् । उनीहरूले उपचार पाएका छैनन् । बिहान र बेलुका छाक टार्न पनि उनीहरूलाई समस्या छ । आफ्ना परिवारका सदस्यहरूलाई राजकीय पदहरू दिलाएका प्रधानमन्त्री दाहालले आफैलाई साथ दिएका नेता कार्यकर्तालाई दु:ख दिइरहेका छन् ।

नारायणकाजी श्रेष्ठ तत्कालीन समयमा गृहमन्त्री हुँदा आफ्नै पार्टीका नेता कार्यकर्ताहरूलाई निशाना बनाए । आफ्नै पार्टीको बदनाम गर्न लागे । प्रधानमन्त्री दाहाल र तत्कालीन गृहमन्त्री श्रेष्ठ मिलेरै नेता कार्यकर्तामाथि तेजोबद्ध गरेको पुष्टि भएको छ । श्रेष्ठलाई प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्री बनाएर पुरस्कृत गरेका छन् ।

प्रधानमन्त्री दाहाल भने नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मिलेर आफ्नो पार्टीका नेता कार्यकर्ताको तेजोबद्ध गर्न लागेका छन् । आरोप र आक्षेप लगाएको भरमा धमाधम पक्राउ गरेका छन् । जेलहरूमा कोचेर राखेका छन् । कसैले आरोप लगाएकै भरमा निहीत स्वार्थका लागि माओवादीका नेता कार्यकर्ता पीडित भइरहेका छन् ।

माओवादीलाई चाहिने नेता कार्यकर्ताहरूमाथि एकएक गरेर आक्रमण भएपछि पार्टी समाप्त हुने बाटोतिर जाने पक्का छ । आफ्नै दलको प्रधानमन्त्री बनेका बेला माओवादीकै नेता कार्यकर्तामाथि छानीछानी आक्रमण भएपछि नेता कार्यकर्ताहरूले के गर्छन् ? प्रश्न उठेको छ । माओवादीलाई समाप्त पार्न केही अदृश्य शक्ति लागेको छ । त्यो कुरा माओवादीका नेता कार्यकर्तालाई थाहा नहुन सक्छ । जहिले पनि आफूसँग निकट रहेको शक्तिले नै नोक्सानी गर्छ ।

राजनीति र लोकतान्त्रिक संस्कार बोकेको पार्टी नेपाली कांग्रेससँग गठबन्धन गरेका बेला माओवादीका नेता कार्यकर्ता सुरक्षित थिए । कांग्रेसले कसैलाई पनि राजनीतिक पूवाग्रही भएर सताएको छैन । सताउँदैन पनि । प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई पक्राउ गर्न खोज्दा कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेर रोकेका थिए । यसलाई भनिन्छ राजनीतिक संस्कार । कसैलाई पनि बिनाकारण दु:ख दिनु हुँदैन ।

प्रधानमन्त्री दाहालले जहिले जहिले एमाले र रास्वपासँग गठबन्धन गर्छन् अनि शुरु हुन्छ माओवादीका नेता कार्यकर्तामाथि आक्रमण । जनादर्शन शर्मा अर्थमन्त्री रहेका बेला एमालेले निकै सतायो । एमाले निकटका गभर्नर महाप्रसाद अधिकारीले ठूलो असहयोग गरे । अधकारीले अर्थमन्त्रीबाट हट्न शर्मालाई बाध्य बनाए । असक्षम, तस्करी, मुसा लगायतको आरोप लाग्न गभर्नर अधिकारीले बाध्य बनाए । शर्मालाई पनि विभिन्न आरोप लगाएर समाप्त पार्न सकिने प्रयासहरू हुन सक्छ ।

त्योभन्दा अगाडि संवैधानिक पदमा रहेका कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको अभियोग लगाएर लामो समय थुनामा राखियो । महराले अदालतबाट सफाइ पाए । तैपनि महरालाई अहिले पनि सुन तस्करी प्रकरणमा सताउने कार्यहरू भइरहेका छन् ।

महराका छोरा राहुल महरालाई सुन तस्करी प्रकरणमा थुनामा राखिएको छ । दुई दिन अगाडि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको छोरा दीपेश पुनलाई पक्राउ गरिएको छ । दीपेश अखिल क्रान्तिकारीको महासचिव पनि हुन् । राजनीतिक सम्भावना बोकेका दीपेशको राजनीति समाप्त पारिएको छ । नन्दबहादुर पुनसहित उनको परिवार सबैको राजनीतिक, सामाजिक जीवन धरासायी बनेको छ ।

माओवादी रहँदा सधैँ पेलानमा परेका तर, नेकपाका बेला एमालेतिर लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरूको पनि राजनीति धरासायी बनाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछेर उनीहरूलाई पनि दु:ख दिइएको छ । थापा सार्वजनिक कार्यक्रमहरूमा बोल्न सक्दैनन् । रायमाझी पुर्पक्षका लागि थुनामा छन् ।

अर्थमन्त्री वर्षमान पुन सुन तस्करीमा मुछिएका छन् । वर्षमानलाई पनि समाप्त पार्ने प्रयासहरू भइरहेका छन् । वर्षमान अहिले पनि बलियो अवस्थामा रहेका कारण उनलाई सिधै हात हाल्न सकेका छैनन् ।

यी केही प्रमाणहरू हुन् । धेरै नेताहरू माओवादीभित्र पीडित बनेका छन् । प्रधानमन्त्री दाहालले नै स्वीकृति दिएपछि माओवादीका नेता कार्यकर्ताहरूमाथि आक्रमण भएका हुन् भनेर नेताहरूले टिप्पणी गरेका छन् ।

कुनै दलका नेताको राहदानी, नागरिकता दोहोरो हुँदा पनि कुनै कारबाही भएन । प्रधानमन्त्री दाहाल आफैले मुद्दा फिर्ता लिएर सफाइ दिएका छन् । अरु पार्टीका नेताहरूलाई अनुसन्धान हुन नदिएर मुद्दामा फिर्ता गराउँछन् । तर, प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका नेताहरूलाई पीडा दिन्छन् ।

उप–प्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगी काण्डमा परेका छन् । लामिछाने अनुसन्धानको दायरामा थिए । प्रधानमन्त्री दाहालले गृहमन्त्री बनाइदिए । त्यही सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई पक्राउ गरेर रुपन्देही लगिएको छ ।

दीपेशलाई कारबाही हुन्छ भने गृहमन्त्री लामिछानेलाई किन कारबाही नगर्ने ? भनेर माओवादीका नेताहरूले प्रश्न उठाएका छन् ।

Published : Sunday, 2024 March 17, 8:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया