तरुण दलकाे केन्द्रीय समिति बैठक आह्वान, अनुसन्धानको दायरामा रहेका मन्त्रीबारे विशेष निर्णय हुने

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा छलफल गर्न नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको छ ।

अध्यक्ष विद्वान गुरुङले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको तरुण दल केन्द्रीय कार्यालयका मुख्य सचिव ठानप्रसाद पोखरेलद्वारा जारी सूचनामा उल्लेख छ ।

बैठक चैतको १५ र १६ गते बिहान ११ बजे ललितपुरको कुपण्डोलस्थित कुपण्डोल व्यान्क्वेटमा हुनेछ ।

नेपाल तरुण दलको पाँचौँ राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा पनि विशेष निर्णय हुनेछ । अध्यक्ष गुरुङले भने, ‘पाँचौँ राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा पनि छलफल हुनेछ ।’

सत्तामा रहेका दलका केही मन्त्रीहरू अनुसन्धानको दायरामा रहेको र अराजक हर्कत गरिरहेको विषयमा पनि तरुण दलले गम्भीर छलफल गर्नेछ ।

उप–प्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारीको रकम दुरुपयोग गरेको काण्डमा मुछिएका छन् । अर्थमन्त्री वर्षमान पुन सुन तस्करी प्रकरणमा मुछिएका छन् ।

नेपाली कांग्रेसले अनुसन्धानको दायरमा रहेका मन्त्रीहरूका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को धारणा माग गरेर सदन अबरोध गरिसकेको छ ।

Published : Saturday, 2024 March 16, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया