तत्कालीन गृहमन्त्री र एआईजीको आदेश मानेर गलत हर्कत गर्ने एसपी र २ डीएसपीलाई कारबाही

काठमाडौं । सुन काण्डमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख (एसपी) सञ्जयसिंह थापा कारबाहीमा परेका छन् ।

शुक्रबार कारबाही स्वरुप एसपी थापालाई हेडक्वाटर तानिएको छ । सुन काण्डमा आरोपीहरूलाई बचाएको पुरस्कार स्वरुप तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसपी थापालाई नुवाकोट जिल्लाको प्रमुखको जिम्मेवारी दिएका थिए ।

सुनकान्डको अनुसन्धानमा आरोपीलाई उन्मुक्ति दिन खोजेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन एसपी थापा तानिएका हुन् । थापालाई कारबाही गर्न आयोगले सिफारिस गरेको थियो ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा कार्यरत डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई पनि हेडक्वार्टर तानिएको छ । कुँवर र दाहाललाई कारबाहीको लागि सिफारिस गरिएको छ । उनीहरू सीआईबीमा कार्यरत थिए ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सीआईबी प्रमुख (एआईजी) किरण बज्राचार्यले मोटो रकम बुझेर सुन काण्डका धेरै आरोपीहरूलाई उन्मुक्ति दिएको आरोप पनि छ । केही आरोपीलाई जबरजस्ती फसाइएको र केही आरोपीलाई अनुसन्धानको दायरामा नै नल्याइएको आरोप छ ।

व्यापारी जीवन चलाउनेलाई सुन तस्करी प्रकरणमा जबरजस्ती तानिएको आरोप छ । चलाउनेले आफूलाई सुन तस्करी प्रकरणमा जबरजस्ती फसाइएको दाबी गरेका छन् । भिडियो सन्देशमा उनले आफू निर्दोष रहेको र एआईजी श्यामलाल ज्ञवालीले फसाएको आरोप लगाएका छन् ।

प्रहरीको परार सूचीमा रहेका चलाउनेले केही दिनभित्रै आत्मसमर्पण गर्ने बताएका छन् । उनले प्रहरीका उच्च अधिकारीहरूले रकम माग गरेको पनि बताएका छन् ।

सुन प्रकरणको अनुसन्धान भइरहेका बेला तत्कालीन गृहमन्त्री श्रेष्ठले मम बोकेर सीआईबी मुख्यालय महाराजगञ्ज पुगेर माओवादीका नेता कार्यकर्तालाई बचाउन आदेश दिएको आरोप छ ।

Published : Friday, 2024 March 15, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया