माओवादीलाई हिंसात्मक भनेकै हो, प्रचण्ड पद्धतिमा होइन पदमा आशक्त छन् : सभापति बानियाँ

सिन्धुली । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद्धतिलाई भन्दा पनि पदका लागि केन्द्रित हुने गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस सिन्धुलीले सिन्धुलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले प्रधानमन्त्री दाहालमा कुनै पनि राजनैतिक सिद्धान्त नरहेको बताए । कांग्रेससँग भएको आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला भएपछि पदका लागि गठबन्धन तोडेर एमालेसँग मिल्न गएको उनले बताए ।

कांग्रेसको महासमितिमा पेस गरिएका दस्तावेज र कोशी प्रदेशको निर्वाचनलाई माओवादी अध्यक्ष दाहालले बहाना मात्रै बनाएको उनले बताए । केपी ओलीसँग मतभेद देखाएर कांग्रेससँग मिल्न आएको कुरा सबै बेकार रहेको सभापति बानियाँले बताए ।

उनले भने, ‘हिंसात्मक गतिविधिले नेपालको प्रगतिमा असर गर्‍यो भनेर महासमितिको बैठकको प्रतिवेदनमा लेखेकै हो । त्यो हिंसात्मक गतिविधि नै थियो ।’

‘कांग्रेसको दस्तावेजमा कहिँ हिंसात्मक कुरा लेख्ने, कहिँ ०८४ का कुरा लेख्ने अनेक कुराहरूमा उहाँको बहानाबाजी थियो’, उनले भने, ‘कोशीको घटनाक्रम बहानाबाजी थियो । उहाँले पद्धतिलाई भन्दा पदलाई प्राथमिकता दिनुभयो ।’

सभापति बानियाँले भने, ‘आलोपालोको सहमति कार्यान्वयनको समय आउन लागेको थियो । सहमति कार्यान्वयन गर्नुभन्दा अगाडि १५ महिना पुग्दापुग्दै सहमतिलाई होइन रहेछ । पदका लागि रहेछ ।’

उनले भने, ‘केपी ओलीले गणतन्त्रलाई मास्न खोज्यो भनेर प्रचण्ड हामीसँग आएको त स्वार्थका लागि रहेछ । पद्धतिका लागि होइन पदका लागि आएको कुरा अहिले आएर छर्लङ्ग भयो ।’

सभापति बानियाँले भने, ‘फरक परिस्थिति छ । नेपाली कांग्रेसको नेतृत्वमा हिजोको गठबन्धनको सरकार थियो । गठबन्धन थियो । निर्वाचन थियो ।’

‘तर, आज परिस्थिति फरक भएको छ । कांग्रेस जनताको बीचमा भएको भ्रम र यथार्थलाई कांग्रेस जे बोल्छ सत्य बोल्छ’, उनले भने, ‘जनताको बीचमा भ्रम फैलाउनेहरूविरुद्ध कांग्रेसको प्रशिक्षण हो ।’

प्रशिक्षण कार्यक्रमको सभापतित्व सिन्धुली कांग्रेसका उपसभापति दीपक घिमिरेले गरेका थिए । कार्यक्रममा सिन्धुली कांग्रेसका सभापति उपेन्द्र पोखरेल, मकवानपुर कांग्रेसका सभापति बुद्ध लामा, पूर्वसभापति मोहन बराल लगायतको उपस्थिति रहेको थियो ।

सिन्धुली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई तीन दिनसम्म प्रशिक्षण दिनेछ । बागमती प्रदेश कार्यसमितिको कार्यक्रमअनुसार सिन्धुलीमा प्रशिक्षण राखिएको छ । बागमतीका १२ जिल्लामा प्रशिक्षणहरू हुनेछन् ।

Published : Friday, 2024 March 15, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया