माओवादी नेता एवम् पूर्वउपराष्ट्रपतिका छोरा धापासीबाट पक्राउ

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई पक्राउ गरेको छ ।

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका दीपेशलाई शुक्रबार साँझ काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

दीपेशलाई प्रहरीको टोलीले धापासीबाट पक्राउ गरेको जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा दीपेशको चिनियाँ सुन तस्करसँग संलग्नता देखिएको थियो ।

सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दीपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । दीपेशका दाइ जितेन्द्र पुन र तत्कालीन उपराष्ट्रपति समेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमा संलग्न रहेका प्रमाणहरू बाहिरिएको थियो ।

सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए ।

सहकारीको रकम हिनामिना र दुरुपयोग गरेको अभियोग गृहमन्त्री रवि लामिछानेलाई पनि लागेको छ । सहकारी काण्डमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको छ । कांग्रेसले लामिछानेविरुद्ध सहकारी प्रकरणमा छानविन गर्न माग गर्दै आएको छ ।

Published : Friday, 2024 March 15, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया