सहकारीको रकम दुरुपयोग काण्डमा मुछिएका गृहमन्त्रीको जवाफ माग गरेर कांग्रेसद्वारा अबरोध

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएको विरोधमा संसद अबरोध गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेका लामिछानेलाई गृहमन्त्री बनाएर विधिको शासन उल्लंघन भएको जनाएको छ । कांग्रेसले सहकारीको रकम दुरुपयोग र ठगी प्रकरणमा लामिछानेका कारण अनुसन्धानमा अबरोध भएको कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसका सांसदहरू आ–आफ्नो सिटमा उभिएर सदन अबरोध गरेका छन् । सांसद राजेन्द्र केसीले गृहमन्त्री लामिछानेको सहकारी प्रकरणमा जवाफ माग गर्दै रुलिङ गर्न आग्रह गरेका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बीचमा उभिएर गृहमन्त्री लामिछानेको बचाउ गरेका छन् ।

सहकारीको रकम ठगी प्रकरणमा लामिछानेविरुद्ध पोखरामा जाहेरी परेको छ । लामिछानेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बचाउन रास्वपाका सभापति लामिछानेलाई गृहमन्त्री बनाएपछि कांग्रेसले अनुसन्धानमा अबरोध भएको भन्दै संसद अबरोध गरेको छ ।

कांग्रेसले सुन काण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनबारे छानविनको माग गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रमुख प्रतिपक्ष दलले सदन अबरोध गरेका बेला संसदमा अन्य सांसदलाई बोल्न दिन नहुने बताए । उनले प्रतिपक्ष उभिएको बेला सदन अबरोध हुने जानकारी सभामुखलाई ध्यानाकर्षण गराएका छन् । लेखकले सदनको गरिमालाई सभामुखले उल्लंघन गरेको बताए ।

उनले बजेटसँग सम्बन्धित छलफललाई कुनै पनि अबरोध नगर्ने बताए । उनले सदनमा एउटा विषय स्थापित भएको भन्दै कुनै पनि माननीय अनुसन्धान र छानविनको दायराभित्र परेको छभने त्यस्तो माननीयलाई आफ्नो पदमा बसिरहने सिद्धान्त लागू भएको बताए । उनले हिजोका दिनमा प्रतिपक्षले माग गरेको कुरा भएको बताए ।

Published : Friday, 2024 March 15, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया