भोजपुर हिँडेको बोलेरो दुर्घटनाप्रति कांग्रेस नेता चापागाइँद्वारा दु:ख व्यक्त, छानविनको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता उत्तम चापागाइँले बोलेरो गाडी दुर्घटनामा ८ जनाको मृत्यु भएको भन्दै गहिरो चिन्ता जनाएका छन् ।

शुक्रबार शोक वक्तव्य जारी गरेर नेता चापागाइँले दुर्घटनामा घाइते भएका ९ जनाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरूको उपचारमा विशेष ध्यान दिन सरोकारवाला निकायसँग अनुरोध गरेका छन् । बोलेरो जीपमा क्षमताभन्दा धेरै यात्रु राखेका कारण दुर्घटना भएको हुन सक्ने भन्दै उनले गाडीमा धेरै यात्रु राख्न अनुमति दिने निकायलाई कारबाहीको मागगरेका छन् ।

उनले भने, ‘सडक दुर्घटना हुनुको कारण अनुसन्धान गर्नुपर्छ । दुर्घटना हुनुको कारण पत्ता लगाएर आगामी दिनमा दुर्घटना न्यूनीकरण र रोकथाममा पहल गर्नुपर्छ ।’

उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को.१ ज २५९३ नम्बरको बोलेरो गाडी सडकबाट करिब ४ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जनाको घटनास्थलमै र १ जनाको धरान वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ९ जनालाई उपचारको लागि धरानतर्फ पठाइएको छ ।

Published : Friday, 2024 March 15, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया