म्याग्दी–जोमसोम–कोरोला सडक मेरो ड्रिम प्रोजेक्ट हो : कांग्रेस सांसद थकाली

जोमसोम । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद योगेश गौचन थकालीले म्याग्दी–जोमसोम–कोरोला सडक खण्ड निर्माण सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको घास गाउँमा बिहीबार थकाली सेवा समिति केन्द्रले आयोजना गरेको १२औँ तारा खेल प्रतियोगिताको उद्घाटन गर्दै सांसद थकालीले म्याग्दी–जोमसोम–कोरोला सडक आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए ।

उनले यो सडक बनाउन आफ्ना पिता पूर्वमन्त्री रोमी गौचन थकालीले निकै कठिनाइका बीच ल्याएको योजना रहेको स्मरण गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले थकालीको सँस्कृति, पहिचानसँग धनुषवाण अर्थात् तारा खेल अत्यन्त सन्निकट, पहिचान र सम्बन्ध राखिएको बताएका छन् ।

सांसद थकालीले आफू मुस्ताङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो पिताको ड्रिम प्रोजेक्टमा रहेको म्याग्दी–जोमसोम–जोमसोम कोरोला सडकको लागि प्रयाप्त प्रयास गरि केही सुधारात्मक संकेतहरू देखिएको उल्लेख गरेका छन् ।

उनले जोमसोम–कोरोला सडकको बजेट व्यवस्था गरेर पनि बिगत ५ वर्षदेखि वातावरणीय मूल्यांकनको अभावमा बजेट कार्यान्वयन हुन नसकेकोमा दु:ख व्यक्त पनि गरेका छन् ।

सांसद थकालीले पाँच वर्षमा वातावरण मूल्यांकन गर्ने ठेक्का पाएको कन्सल्टेन्टले ५ वर्षसम्म कुनै पनि प्रतिवेदन पेश नगर्दा काम अगाडि बढाउन समस्या भएको बताए । उनले यो विषयमा सम्बन्धित पक्षहरूले चासो नदेखाएकोमा चिन्ता जनाएका छन् ।

आफू अनवरत रुपमा म्याग्दी–जोमसोम सडकलाई पूर्णता दिन र जोमसोम–कोरोला सडक खण्डको स्तरोन्नति गर्न आईईए नभए पनि आईई गरेर ५०/५० किलो मिटरको काम गरेर अगाडि बढाउने उनले बताएका छन् ।

सांसद थकालीले जिल्लासँग सम्बन्धित गर्नुपर्ने काम र गरिरहेका विकासका कार्यहरूमा विशेष ध्यान दिने बताएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले थकालीहरूको पहिचान भनेकै उदारवाद, सबै जातजाति, धर्म, भाषासँग संहिष्णुता राखेर सबैसँग मिलेर र मिलाएर अगाडि बढ्ने क्षमता भएको उल्लेख गरेका छन् ।

पूर्वमन्त्री थकालीले थकालीहरूको पहिचान भनेकै सबैसँग मिलेर बस्नु रहेको बताए । उनले कार्यक्रमका लागि देश, विदेशबाट आएका खेलाडीहरूको स्वागत पनि गरेका छन् ।

पूर्वमन्त्री थकालीले म्याग्दी–जोमसोम–कोरोला सडक आफूले अनवरत प्रयासबाट प्रारम्भ गरेको बताए । उनले हालसम्म विभिन्न बहानामा सम्पन्न हुन नसकेकोमा दु:ख व्यक्त गरेका छन् ।

Published : Thursday, 2024 March 14, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया