४८ घण्टाको कुराले प्रचण्ड निकै हतास देखिए, देउवा–ओलीप्रति सशंकित, जंगिँएर सबैलाई थर्काए

काठमाडौं । कम्युनिस्ट गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चर्को आलोचना भएपछि आलोचकहरूलाई झपारेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा दाहालले आफ्ना आलोचकहरूप्रति आक्रोश पोख्दै विश्वासको मत नदिने भए नदिन चेतावनी दिए । उनले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेको आलोचना सुनेपछि विश्वासको मत नदिन सचेत गराएका थिए ।
उनले भने, ‘यसले लोकतन्त्रलाई सुदृढ गर्न मद्दत गर्छ भन्ने ठानेको छु । यो लोकतन्त्रको सुन्दरता र ऊर्जा पनि हो ।’

दाहालले आलोचनालाई केही हदसम्म स्वीकार गरेका छन् । उनले आफू तेस्रो पटक विश्वासको मतका लागि संसदमा उभिएको भन्दै यस क्रममा गठबन्धनहरू बन्ने र भत्किने क्रम चलेको बताए ।

‘यो प्रक्रिया चलिरहेको छ । मलाई यो बहसमा सुरुदेखि एउटा कुरा भनेर प्रेसर दिन भनौँ या पोलिटिकल्ली अलि बढी घोचपेच गर्न खोजेजस्तो महसुस भएको छ’, प्रधानमन्त्री दाहालले बताए ।

‘ठूला दलहरू हामी मिल्यौ भने तेरो हालत के हुन्छ ? भनेर पहिला पनि भनियो । आज पनि भनियो’, उनले भने, ‘मेरो त कामना छ, तपाईहरु सबै मिल्नुस् । तपाईहरु सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरि देश र जनताको पक्षमा, संविधानको पक्षमा र राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिराख्छ ।’

कांग्रेसका सांसद विश्वप्रकाश शर्माको अभिव्यक्तिप्रति लक्षित गर्दै दाहालले कांग्रेस–एमालेलाई मिलेर देखाउन चेतावनी दिएका छन् ।

उनले भने, ‘तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर ? हिजो त तपाईँहरू सबै मिलेर टाउकै काट्न खोजेको हो नि ! डराउँछ माओवादी भन्ठान्नु भएको छ ? कतिबेला को राजनीतिक दल कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन् ।’

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने भनेर आएका आलोचना र टिकाटिप्पणीप्रति दाहालले जंगिँदै मिल्न चेतावनी दिएका थिए ।

जनताको हितमा काम गर्न सकिन्छ भन्ने लाग्यो भने गठबन्धन गर्नुलाई स्वाभाविक मान्नुपर्ने उनले बताएका छन् । उनले आफ्नो मन्त्रिमण्डलमा रहेका रवि लामिछानेमाथि उठेका प्रश्नको बचाउ गरेका छन् ।

‘अहिले प्रश्न उठेका मानिसलाई मन्त्री बनाउने, यो के हो ? पनि भनियो । मलाई थाहा थियो तिनैलाई प्रधानमन्त्री बनाउन हिँडिरहेको कुरा । यस्तो डबलस्ट्याण्ड पनि हुन्छ ?’, उनले भने ।

त्यसअघि प्रतिनिधिसभामा बोल्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रविको विषयमा प्रश्न उठाउँदै आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई मिल्न आउन गरेको संकेततर्फ केन्द्रित भएका छन् ।

‘यहाँ माननीय पूर्वप्रधानमनत्री केपी ओलीजीले बोली नचल्ने भन्ने भाषा प्रयोग गर्नुभयो । उहाँले एउटा मर्मका साथ प्रयोग गरेको मैले बुझेँ ।’

प्रधानमन्त्री दाहालले भने, ‘र, उत्तापट्टि माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीले अब बोल्ने हो भन्नुभयो । बोल्नुस् म भन्छु बोली फुकाउनुस् । बनाउनुस् सहकार्य ।’

दाहालले ओलीप्रति आशंका व्यक्त गर्दै चेतावनीको शैलीमा भने, ‘माओवादी केन्द्र, प्रचण्ड या प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’ उनले समीकरण फेर्न वा गठबन्धन बनाउन सबै राजनीतिक दल स्वतन्त्र रहेको बताए ।

‘आफ्नो हित र आफूले बुझेको राजनीतिक मुद्दाअनुसार नै गठबन्धन बन्ने र टुट्ने हो’, प्रचण्डले भने, ‘मैले अस्ति पनि संक्षिप्त रूपमा अहिलेको गठबन्धन राजनीतिक रूपमा बन्दै छ अरू भ्रम नपरोस् भनेर भनेको थिएँ । मैले धोका, बेइमानी र षडयन्त्र भन्ने शब्द प्रयोग गरेको थिइनँ ।’

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्र पाण्डेले आफूहरूलाई थाहै नदिई गठबन्धन बदलेकोप्रति आक्रोश पोखेका छन् ।

उनले नैतिकता भन्ने कुरा राजनीतिमा हुनुपर्ने भन्दै आफूले विष पिएर वर्तमान प्रधानमन्त्रीले बाटैमा छाड्न खोजेको बताए । उनले पार्टीले त्यसरी धोका नदिने बताएपछि प्रधानमन्त्री दाहालले आफूलाई जबरजस्ती सघाउन कसैलाई पनि बाध्य नपारेको आशयको जवाफ दिएका छन् ।

प्रधानमन्त्री दाहालले ४८ घण्टाभित्र आफ्नो सरकार ढाल्ने भनेर कांग्रेसले गतिविधि गरेको भन्दै आक्रोश पोखेका छन् । उनले कांग्रेसप्रति निकै आक्रोश पोखेका थिए ।

Published : Wednesday, 2024 March 13, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया